नेपालको एक प्रमुख धार्मिक तीर्थस्थल मुक्तिनाथमा गत चैत २८ गते १ करोड ११ लाख ११ हजार १ सय १ दीप प्रज्ज्वलनको कार्यक्रम भव्य रुपमा सफल भएसँगै १ अर्ब बढी दीप प्रज्वलनको तयारीमा जुटेका छन् समाजसेवी हरि महत । चितवनको देवघाटमा छिट्टै नै १ अर्ब बढी दीप प्रज्ज्वलन गरेर विश्व रेकर्ड राख्ने कोसिस गर्दै छन् महत । नेपाल आमा स्वस्ती शान्ति पूजाका अध्यक्ष हरि महतले दीप प्रज्ज्वलनको प्रमुख उद्देश्य घर–घरमा फैलिएको पितृदोषको अन्त्य गर्दै सम्पूर्ण समाजमा शान्ति, समृद्धि र सद्भाव फैलाउनु रहेको उल्लेख गर्नुभयो ।




पितृदोष मुक्ति नै मूल उद्देश्य
दीप प्रज्वलन अभियानका अगुवा र समाजसेवी हरि महतले “आजको समाजमा धेरैजसो मानिसहरू अव्यवस्थित जीवन, मानसिक तनाव, आर्थिक संकट तथा पारिवारिक कलहमा फसेकोले घर–घरमा पितृहरुको रिस अर्थात् पितृदोष मुक्तिका लागि पुनः एक अर्ब दीप प्रज्ज्वलनको कार्यक्रम गर्न लागिएको दाबी गर्नुभयो । उहाँले यसअघि वनदेवी ज्येष्ठ नागरिक मिलन केन्द्र दिवा सेवामा लाख बत्ति र मातातीर्थमा १ करोड दीप प्रज्ज्वलन गरी पितृहरुलाई खुशी बनाउन आफु लागि परेको र त्यसले नयाँ ऊर्जा, आशा र समृद्धिको मार्ग खुल्नेमा आफु विश्वस्थ रहेको बताउनु भयो ।
कार्यक्रमको विशेषता
१ करोड ११ लाख ११ हजार १ सय १ दीप देशैभरबाट संकलन गरी घिउ र तेलमा प्रज्वलन गरिएको थियो । उक्त कार्यक्रममा प्रमुख अथिति मुस्ताङका प्रमुख जिल्ला अधिकार विष्णुप्रसाद भुसाल हुनुहुन्थ्यो । कार्यक्रममा देशैभरका तीर्थयात्री, साधु–सन्त, भिक्षु, विदेशी पर्यटकलगायत सचारकर्मीको उपस्थिति रहेको थियो । मुक्तिनाथमा आयोजना भएको यो दीप प्रज्ज्वलन ईतिहासमै पहिलो पटक यति ठूलोमात्रामा दीप प्रज्ज्वलन भएको दावी गरिएको छ । कार्यक्रमको आवर न्यूज क्रिउ डट कमले मुक्तिनाथबाट इतिहासमै पहिलोपटक लामो समय प्रत्यक्ष प्रशारण गरेको थियो । यति उचाईबाट कार्यक्रमको प्रत्यक्ष प्रशारण गरिरहँदा विभिन्न चुनौतीको सामाना समेत गर्नुपरेको थियो ।
धार्मिक सहिष्णुता र पर्यटन प्रर्वधन
मुक्तिनाथ हिन्दु र बौद्ध दुबै धर्मावलम्बीको साझा तीर्थस्थल हो । यो दीप यज्ञले धार्मिक एकता र सहिष्णुताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ । साथै यसले हिमाली पर्यटनको प्रवद्र्धनमा पनि टेवा पुर्याउने विश्वास लिइएको छ ।

प्रमुख अतिथिहरूको मन्तव्य
कार्यक्रमका प्रमुख अतिथि तथा विशिष्ट धर्मगुरुहरूले पितृदोष निवारणको महत्त्वलाई विशेष जोड दिँदै भने— “दीप–प्रकाशको माध्यमबाट आत्मा उज्यालो हुन्छ । आजको दिन सबैका पितृ आत्माहरु शान्ति प्राप्त गरून्, समाज शुद्ध होस्, यही कामना गरौं ।” मुक्तिनाथको १ करोड ११ लाख ११ हजार १ सय १ दीप प्रज्ज्वलन अभियान केवल बाह्य रुपमा भव्य धार्मिक अनुष्ठान मात्र होइन, समाजमा गहिरो रूपमा बसिरहेका मानसिक, आत्मिक र पारिवारिक समस्याको समाधान खोज्ने प्रयास पनि हो । पितृदोष निवारणमार्फत शान्ति, सद्भाव र समृद्धिको सन्देश बोकेको यो अभियानले भावी पुस्ताका लागि एक नयाँ उदाहरण स्थापित गरेको छ ।



