काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो खेलमा ग्रीन भिलेज एजुकेशन फाउण्डेशन, कीर्तिपुर र जेम्स स्कुल, धापाखेलबीच भएको लीग चरणको खेल बराबरी भएको छ । खेलमा फाउण्डेशनका खेलाडी प्रत्युष हमाल र जेम्सका खेलाडी जोयल लामाले एक–एक गोल गरेका थिए ।
त्यसैगरी दोश्रो खेलमा नेपालय पब्लिक इंग्लिस स्कुल जोरपाटीले हारती शिक्षा मन्दिर सीतापाईलालाई ५–० गोलअन्तरले पराजित गरेको थियो । नेपालयका सन्देश गौडेल, रणवीर तामाङ्ले २–२ गोल गरेका थिए । हारतीले आत्मघाती गोल गर्दा नेपालयसँग ५–० गोलअन्तरले पराजित हुन पुगेको हो ।



आजको खेलमा जेम्स स्कुलका आशिष पाण्डे र नेपालयका चेङ्गा लामा म्यान अफ द म्याच घोषित भएका थिए । बिहीबार दुई खेल हुनेछ । पहिलो खेल ग्रीन भिलेज सेकेण्डरी स्कुल कीर्तिपुर र लिटिल एन्जल्स स्कुल, हात्तिवन ललितपुरबीच हुनेछ भने दोस्रो खेल नेपाल पुलिस स्कुल, साँगा र काव्या स्कुल, बुद्धनगर काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ ।
विद्यालय तहबाटै फुटबल खेलको विकास र विस्तार गर्ने उद्देश्यले नेपाल एपीएफ स्कुल कीर्तिपुरले माघ २२ गतेबाट प्रतियोगिता संचालन गर्दै आएको छ ।



