पछिल्लो समयमा कोशी प्रदेशका सांसदहरूको एकपछि अर्को विवादमा संलग्नता, दुर्व्यवहार र कर्तव्यहीनताले सिङ्गो प्रदेश, मतदाताहरू र संघीय प्रणालीमाथि नै प्रश्नचिह्न खडा गरेको छ । सांसदहरूको आचरण, निष्ठा, र क्षमता उदाहरणीय हुन्छ भन्दै माननीय शब्दले सम्बोधन गरिने गरेको भएपनि सांसदले यसको धज्जी उडाएका छन् । यसरी धज्जी उडाउनेमा कोशी प्रदेशका सात सांसद छन् ।
१. लिलाबल्लभ अधिकारी – मानव तस्करीमा पक्राउ – अनुसन्धान जारी
२. बुद्धिकुमार राजभण्डारी – जुवा खेल्नेलाई प्रोत्साहन – धरौटीमा रिहा
३. खगेनसिंह हाङ्गाम – प्रहरीलाई ज्यान मार्ने धम्की – विवादपछि मन्त्री
४. इन्दिरा थापा – प्रदेशको बजेटबाट निजी घर निर्माण – अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा
५. राधाकृष्ण खनाल – सहकारी ठगी – छोरासहित प्रहरी नियन्त्रणमा
६. इस्राइल मन्सुरी – सभामुखको लेटरप्याडको दुरुपयोग – विवादको कारण आलोचना
७. गुलेफुन खातुन – सरकारी छाप दस्तखत कीर्ते –अघिल्लो कार्यकालमा मुद्दा दर्ता



लीलाबल्लभ अधिकारी
निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी मानव तस्करी जस्तो गम्भीर अपराधमा संलग्न भएको आरोपमा आइतबार पक्राउ परे। मन्त्री पदमै हुँदा अधिकारीले नक्कली कागजातको आधारमा अन्य चार जना व्यक्तिहरूलाई जापान लैजाने प्रयास गरेको जनाइएको छ ।
बुद्धिकुमार राजभण्डारी
सोलुखुम्बुबाट निर्वाचित नेकपा एमालेका सांसद बुद्धिकुमार राजभण्डारीले काठमाडौंको गौरिघाटमा जुवा खेलिरहेका बेला पक्राउ परेका थिए। प्रदेशसभामा नैतिकता र इमान्दारिताबारे प्रवचन दिने राजभण्डारीले यस्तो गैरकानुनी क्रियाकलापमा संलग्न हुँदा मतदाताहरूले नै लाज महसुस गर्ने अवस्था बन्यो। प्रहरीले पक्राउ गरेका राजभण्डारी अदालतमा धरौटी बुझाएर रिहा भएका हुन् ।
खगेनसिंह हाङ्गाम
बहालवाला मन्त्री रहेका कोशी प्रदेशका खगेनसिंह हाङ्गामले ताप्लेजुङका प्रहरी प्रमुखलाई ज्यान मार्ने धम्की दिएका थिए। कांग्रेसको सत्ता आएको खण्डमा “कहाँ बस्छस, कस्तो लुगा लगाउँछस“ भनेर उनले दिएको धम्कीले मन्त्रीको मर्यादा र जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको छ ।
इन्दिरा थापा
पूर्वराज्यमन्त्री इन्दिरा थापाले धनकुटाको निजी जग्गामा प्रदेश सरकारको करिब दुई करोड रुपैयाँ बजेटबाट घर निर्माण गरेको खुलासा भएको छ। सरकारी स्रोतको दुरुपयोग गर्दै निजी सम्पत्तिमा लगानी गर्नु सरकारी संयन्त्रको दुरुपयोगको ज्वलन्त उदाहरण हो। पदको दुरुपयोग गरेको विषयमा न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ।
राधाकृष्ण खनाल
झापाका एमाले सांसद राधाकृष्ण खनाल सहकारी ठगी प्रकरणमा मुछिएका छन्। उनको छोरा सुमन खनाल समेत एक करोड ३८ लाख भन्दा बढीको ठगी आरोपमा प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
अन्य विवादास्पद सांसदहरू
इस्राइल मन्सुरी र गुलेफुन खातुन जस्ता जनप्रतिनिधिहरू पनि विभिन्न गैरकानुनी गतिविधिहरूमा संलग्न भएका छन्। मन्सुरीलाई सभामुखको लेटरप्याडको दुरुपयोग गरेको आरोप छ । मन्सुरीलाई तत्कालीन मुख्यमन्त्री उद्दव थापालाई मुख्यमन्त्री बनाउँदा हस्ताक्षर गरेर लेटरप्याडको दुरुपयोग गरेका थिए । यस्तै खातुनले पनि सरकारी छाप दस्तखत किर्ते गरेका थिए ।
कोशी प्रदेशका सांसदहरूले राजनीतिक शक्तिको दुरुपयोग गरेको यस्ता घटनाले न केवल तिनको व्यक्तिगत छवि, तर सम्पूर्ण राजनीतिक संस्थापनको विश्वसनीयतालाई समेत चुनौती दिएको छ ।
सांसदलाई सम्मानका साथ ‘माननीय’ सम्बोधन गरिन्छ । यसको अर्थ, उनीहरू जनता र देशको सेवा गर्ने, इमानदार र निष्ठावान पात्र हुन् भन्ने आम बूझाइ हो । तर पछिल्लो समयमा, सांसदका आचरण र व्यवहारले यो उपाधि गुमाउँदै गएको छ । कोशी प्रदेशका केही सांसदले आफ्नो जिम्मेवारीभन्दा टाढा रहेर विवादास्पद गतिविधिमा संलग्न भएको तथ्यहरू सार्वजनिक भएका छन् । यसले न केवल तिनको व्यक्तिगत छवि, तर पूरा प्रदेश र संघीयतामा पनि नकारात्मक प्रभाव पारेको छ । जापान मानव तस्कर प्रकरणमा मुछिएका सांसद एवं निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी त प्रतिनिधि पात्र हुन् । अधिकारी बाहेक हालसम्म विभिन्न अपराधमा अन्य ६ सांसद मुछिएका छन् ।



