काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र कुमार केसीले गणपुरक संख्या नपुर्याउन प्रतिपक्षीका सांसदहरूले बैठक छोडेर गएको आरोप लगाएपछि संसदमा विवाद भएको हो ।



शुक्रबारको बैठकमा सांसद केसीले राजनीतिक दलसम्बन्धी विधेयक पेश हुने बेलामा विपक्षी दलका सांसदहरू संसद छोडेर बाहिर गएको भन्दै आपत्ति जनाउनु भएको थियो । उहाँले संसद छोडेर गएको विषयमा आरोप मात्र लगाउन नखोजेको, आफ्नै आँखाले देखेको समेत बताउनु भयो । उहाँले विधेयक टेबुल गर्ने सत्तापक्षको मात्रै कुरा होइन । जानाजान विधेयक असफल पार्ने काम भएको छ।’ लगत्तै विपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए । सत्तापक्ष र प्रतिपक्षी सांसदहरू प्रतिवादमा उत्रिएपछि संसदमा विवाद बढेको हो । त्यसपछि सभामुख देवराज घिमिरेले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिनुभयो । सांसद गिरीले आफूहरूका कारण कुन विधेयक पास गर्नबाट रोकियो भन्दै प्रश्न गर्नुभएको थियो । उहाँले सत्तापक्षका सांसदहरूले प्रतिपक्षमाथि हिलो छ्याप्ने काम भएको समेत आरोप लगाउनु भयो । उहाँले देशको सुशासनका मुद्दामा कुनै पनि हालतमा सम्झौता गर्न नसक्ने बताउनु भयो । उहाँले बालकुमारी घटनालगायतका विषयमा सरकारको जवाफ माग गर्दै विरोध जनाउनु भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संसदको क्यालेण्डर अगाडि नै तय भएकाले कांग्रेसले त्यसलाई बेवास्ता गरेको बताउनु भयो । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले संसदको क्यालेण्डर अनुसार सत्तापक्ष चल्न नसकेको आरोप लगाउनु भयो । त्यसलगतै माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसदमा हुलहुज्जत नगर्न र सदन चल्ने वातावरण बनाउन आग्रह गर्नुभयो । उहाँले संसदमा सभामुखको भूमिकाप्रति पनि आपत्ती जनाउनु भयो । त्यसपछि विपक्षी दलका सांसदहरुले निरन्तर विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।



