रुकुमपूर्व — पुथा उत्तरगंगा गाउँपालिका–६ स्थित मयाङ खोलामा स्थायी पुल नहुँदा स्थानीय वर्षायाममा काठे साँघुको भरमा आवतजावत गर्न बाध्य छन्। बाढी आएर साँघु बगाउने र स्थानीयले पुनः निर्माण गर्ने क्रम वर्षौंदेखि दोहोरिँदै आएको छ। यस वर्ष साउन महिनामा मात्रै मयाङ खोलाको काठे साँघु सात पटक बगिसकेको स्थानीयले बताएका छन्।

वर्षायाम सुरु भएसँगै मयाङ खोला स्थानीयका लागि जोखिमपूर्ण बन्दै आएको छ। खोला पार गर्न स्थायी पुल नहुँदा स्थानीय आफैँ काठ जोडेर अस्थायी साँघु बनाउने गर्छन्। तर पानीको बहाव बढ्नेबित्तिकै बाढीले साँघु बगाउने गरेको छ। साँघु बगेपछि स्थानीय पुनः काठ जुटाएर अस्थायी बाटो बनाउने गरेका छन्।

स्थानीयका अनुसार स्याङ खोलाबाट आउने बाढीका कारण मयाङ खोलामा पानीको बहाव झनै बढ्ने गरेको छ। पानीको बहाव बढ्दा पैदल यात्रुसँगै सवारीसाधनसमेत जोखिममा पर्ने गरेका छन्।मयाङ खोलामा पुल नहुँदा विद्यार्थीलाई विद्यालय जान, बिरामीलाई उपचारका लागि लैजान तथा दैनिक उपभोग्य सामग्री ओसारपसार गर्नसमेत समस्या हुने गरेको छ। वर्षायाममा खोला बढेपछि अत्यावश्यक कामका लागि आवतजावत गर्नसमेत स्थानीयले जोखिम मोल्नुपर्ने अवस्था छ।

मयाङ खोला पुथा उत्तरगंगा गाउँपालिकाका विभिन्न वडालाई जोड्ने महत्वपूर्ण सडकखण्डमा पर्छ। यही सडकमार्फत वडा नम्बर १, २, ३, ४, ५ र ६ का नागरिक आवतजावत गर्छन्। सडकमा सवारीसाधनको पहुँच विस्तार हुँदै गए पनि पुलको अभावमा वर्षायाममा सडकको सुविधा प्रभावकारी हुन सकेको छैन।

स्थानीयका अनुसार सडक निर्माण भए पनि पुल नहुँदा वर्षायाममा यही सडक जोखिमपूर्ण मार्गमा परिणत हुने गरेको छ। मयाङ खोलाको समस्या वर्षेनी दोहोरिँदै आए पनि स्थायी समाधान हुन सकेको छैन। स्थानीयले अब काठको अस्थायी साँघुको भरमा जोखिमपूर्ण यात्रा गराइरहने कि स्थायी पुल निर्माण गरेर सुरक्षित आवतजावतको व्यवस्था गर्ने भन्ने प्रश्न सम्बन्धित निकायसमक्ष उठाएका छन्। उनीहरूले वर्षायाममा पटक–पटक साँघु निर्माण गर्नुपर्ने बाध्यता अन्त्य गर्न मयाङ खोलामा स्थायी पुल निर्माणको माग गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय