ताप्लेजुङको सुकेटार बिमानस्थलमा साढे तीन महिनापछि हवाई उडान सन्चालन हुने भएको छ । हवाई उडान ठप्प भएको करिब साढे तीन महिनापछि आगामी शनिबारबाट नियमित हवाई उडान सुरु हुने भएको हो । नेपाल वायु सेवा निगमसँग रहेको दुई ओटै जहाज ग्राउण्डेड भएपछि गत मङ्सिर २८ गतेदेखि ताप्लेजुङमा उडान अबरुद्द भएको थियो । पुष पहिलो साता काठमाडौंबाट जहाज उडे पनि खराब मौसमका कारण बीचबाटै फर्किएको थियो । तत्कालका लागि एउटा जहाजको मर्मत सम्पन्न भएकाले आगामी शनिबारदेखि काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान गर्ने तयारी भइरहेको नेपाल वायु निगम ताप्लेजुङका कर्मचारी कुमार गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालका लागि शातामा एउटा उडान राखिएको छ । ताप्लेजुङ–काठमाडाँैको भाडा दर ९ हजार २ सय ७० रुपियाँ निर्धारण गरिएको गुरुङको भनाई छ ।



जिल्लामा हवाई उडान सञ्चालन नहुँदा गाडीमा यात्रा गर्न नसक्ने वृद्धवृद्धाहरु, उपचारका लागि सुबिधा सम्पन्न अस्पतालमा जान चाहाने नागरिकहरु प्रभाबित भएका थिए । यस बिमानस्थलबाट ताप्लेजुङ सहित पाँचथर तथा तेह्रथुमबाट समेत यात्रुहरुले आवतजावत गर्ने गरेका छन् ।



