काठमाडौं । दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसीपको समूह चरणको अन्तिम खेलमा भुटानले माल्दिभ्सलाई १३ गोलले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भुटानका लागि देकी लाजोमले ५ गोल, पेमा छोदेन र डेकी याङदोनले २-२ गोल तथा नामगेल देमा, देकी याङदोन, छिरिङ लादेन र सोनाम छोदेनले १-१ गोल गरेका छन् ।
देकी लाजोमले १५, १९, ४६, ५२ र ७०औँ मिनेटमा गोल गर्नुभयो । पेमाले ७, १७, छिरिङ याङदेनले ६५, ८०, सोनमले ५, नामगेलले ४१, देकी याङदेनले ४७ तथा छिरिङ लादेनले ६८औँ मिनेटमा थप गोल थप्दा माल्दिभ्स भुटानसँग १३ शून्य गोलले पराजित हुन पुग्यो । जीतसँगै भुटान ३ खेलबाट ७ अंक जोडेर समूह ‘बी’ को शीर्षमा उक्लिएको छ । सेमीफाइनलमा स्थान सुरक्षित गरेको भुटानको गोलअन्तर १६ भएको छ ।



यो समूहमा २ खेल खेलेको नेपालले ४ अंक र श्रीलंकाले २ खेल खेलेर ३ अंक जोडेको छ । अब नेपालले समूह विजेता बन्न श्रीलंकालाई ६ गोल अन्तरले पराजित गर्नैपर्ने हुन्छ ।



