बेगनासको आकर्षक पर्यटकीय गन्तव्य गैरीखेतु सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ। टिकटक, फेसबुक र इन्स्टाग्राम जस्ता प्लेटफर्ममा यस ठाउँको मनमोहक भिडियो र तस्बिरहरू सार्वजनिक भएपछि यहाँ दैनिक रूपमा सयौँको सङ्ख्यामा आन्तरिक पर्यटकहरू पुग्न थालेका छन्। पोखरा भन्नेबित्तिकै हाम्रो मानसपटलमा फेवाताल, माछापुच्छ्रे हिमाल र लेकसाइडको रमणीय दृश्य झल्किने गर्छ। तर, प्रकृतिको बरदान पाएको पर्यटकीय नगरी पोखरामा अचेल एउटा यस्तो नयाँ गन्तव्य उदाएको छ, जसले सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ। पोखरा महानगरपालिका वडा नम्बर ३१, बेगनासस्थित गैरीखेतु यतिबेला आन्तरिक पर्यटकहरूका लागि आकर्षणको केन्द्रबिन्दु बनेको छ। प्रकृतिप्रेमीहरू र टिकटक तथा रिल्स बनाउनेहरूको भीडले यो शान्त गाउँ अहिले गुञ्जायमान हुन थालेको छ।
बेगनास बसपार्कबाट मात्रै २० देखि ३० मिनेटको दुरीमा अवस्थित यो सुन्दर ठाउँ गैरीखेत पुग्न सकिन्छ। पहाडी खण्डको सानो थुम्कोमा रहेको यो क्षेत्रबाट तल हेर्दा नीलो र शान्त बेगनास ताल तथा अर्कातर्फ रूपा ताल स्पष्ट देखिन्छन्। परम्परागत रूपमा काठ र ढुङ्गाले बनेको एउटा सानो स्थानीय घर, त्यसको आडैमा ठिङ्ग उभिएको एउटा मात्र रूख र वरिपरि लहरै मिलेका सुन्तला तथा धानबारी नै यो ठाउँको मुख्य विशेषता हो। कतिपयले यसलाई एक्लो रुख र सानो घर भएको गाउँु भनेर पनि सामाजिक सञ्जालमा चिनाउने गरेका छन्।



विशेष गरी दसैँ-तिहारको यो अनुकूल मौसम र लामो बिदाको समयमा यहाँ घुम्न आउनेहरूको लर्को निकै बढेको छ। काठमाडौँ, चितवन, बुटवल र पोखरा बजार क्षेत्रबाट दैनिक सयौँको सङ्ख्यामा पर्यटकहरू यहाँको शान्त वातावरण र सूर्यास्तको अद्भुत दृश्य क्यामेरामा कैद गर्न आइपुग्छन्।
गाउँमा एक्कासि पर्यटकको चहलपहल बढ्दा स्थानीय बासिन्दा तथा व्यवसायीहरू निकै खुसी छन्। यसले स्थानीय स्तरमा आर्थिक गतिविधि बढाउने र बेगनास क्षेत्रको पर्यटनलाई नयाँ उचाइमा पुर्याउने उनीहरूको विश्वास छ। तर, बढ्दो भीडसँगै केही चुनौतीहरू पनि थपिएका छन्। तस्बिर र भिडियो खिच्ने बहानामा कतिपय आगन्तुकहरूले खेतभित्र पसेर धानबाली नष्ट गरिदिने र जताततै प्लास्टिकजन्य फोहोर फ्याँकिदिने गरेका कारण कृषकहरू चिन्तित बनेका छन्।प्रकृतिको काखमा बसेर, धानबारीको सुगन्ध लिँदै बेगनास र रूपा तालको अनुपम दृश्य एकैसाथ नियाल्न चाहनुहुन्छ भने पोखरा ३१ को यो भाइरल गैरीखेत तपाईंको लागि उत्कृष्ट गन्तव्य हुन सक्छ। पोखरा- ३१ को यो सुन्दर गैरीखेत क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय टोल विकास संस्था र महानगरपालिकाले पनि चासो देखाउनुपर्ने देखिन्छ। बाटोको स्तरोन्नति, फोहोर व्यवस्थापनका लागि डस्टबिन र पर्यटकका लागि बस्ने ठाउँहरू बनाउन सके यो क्षेत्र लामो समयसम्म पोखराकै एक उत्कृष्ट हिल स्टेु र भ्यु-पोइन्ट बन्न सक्ने प्रचुर सम्भावना छ।



