काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक र प्रशासनिक नेतृत्वहरू निर्णय गर्नतर्फ अग्रसर नहुने प्रवृत्ति बढ्दै जानु राम्रो संकेत नभएको बताउनु भएको छ ।
सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा कार्यक्रममा प्रधानमन्त्री दाहालले नीति, कार्यक्रम र बजेटबीच तादम्य नमिल्दा सरकारले गरेको कामको परिणाम आउन नसकेको बताउनु भएको हो । उहाँले मन्त्रालयहरू तथा अन्य निकायहरूले निर्धारित वार्षिक लक्ष्य कार्यसम्पादन नगर्दा राजनीतिक र प्रशासनिक नेतृत्वहरू निर्णय गर्न हिच्किचाउने प्रवृत्ति बढ्दै जानु परिस्थिति जटिल बन्दै गएको संकेत भएको बताउनु भयो ।



प्रधानमन्त्री दाहालले अहिले एकले अर्कालाई कसरी ढाडस दिन र सहयोग गर्न सकिन्छ भन्नेमै चुनौती भएको उल्लेख गर्नुभयो । उहाँले सिंहदरबार विकास निर्माण, प्रशासन सबै कामले तात्नुपर्नेमा सेलाएर गएको महसुस आफूले गरेको बताउनु भयो ।



