काठमाडौं । सिद्धिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो सातौं वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष श्रीराम लामिछानेको नेतृत्वमा ७ सदस्यीय समिति, मनहरी बलामीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन भएको छ ।




चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ को सभा हलमा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष लामिछानेले संंविधानले सहकारीलाई देशको तीन खम्बे नीतिअन्तरगत राखे पनि सरकारले सहकारीलाई कमजोर बनाउन लागि परेको भन्दै आरोप लगाउनु भयो ।
उहाँले केही सहकारी संचालकहरुले गरेको गलत क्रियाकलापले देशैभर रहेका हजारौं सहकारीहरुलाई एउटै नजरले हेर्न नहुने पनि स्पष्ट पार्नुभयो । अध्यक्ष लामिछानेले सहकारीमा बचत गर्नुमात्र सदस्यहरुको कर्तब्य नभई सहकारीलाई कुन गतिमा अघि बढाउने भन्नेमा ठूलो हात रहने भएकोले समय समयमा आई सल्लाह सुझाव दिन पनि आग्रह गर्नुभयो । उहाँले सहकारीले आफ्नो सातौं वार्षिक साधारण सभा गरिरहँदासम्म सहकारीले कहिल्यै पनि पछाडी फर्केर हेर्न नपरेको दाबी गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघ तथा राष्ट्रिय सहकारी बैंकका संचालक मनोज कुमार थापाले नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले २०१३ सालबाट सुरु भएको सहकारी २०८० सालसम्म आइपुग्दा ७० लाख भन्दा बढी व्यक्ति सहकारीमा आवद्ध भएको बताउनु भयो । उहाँले सरकारले रोजगारी सिर्जना गर्न नसक्दा दिनहुँ हजारौंको संख्यामा युवा विदेशी रहेको समयमा सहकारीले हजारौंलाई रोजगारी दिई रहेको पनि दाबी गर्नुभयो । थापाले सहकारी नहुँदा कर्जा लिन होस् वा अन्य कुनै काम गर्न पहिला कठिनाई हुने गरेको र अहिले सहकारीकै कारण सम्पूर्ण कठिनाई सहज हुन पुगेको बताउनु भयो । उहाँले सहकारी दुःखको साथी भएकोले यसलाई बचाई राख्न सदस्यहरुले लिएको ऋण बेलैमा तिर्न समेत आग्रह गर्नुभयो । उहाँले सहकारीहरु अहिले धरासायी हुनुमा ऋण लिएका व्यक्तिहरुले समयमै नर्तिदाको उपज भएकोले ऋण नतिर्नु अपराध भएको बताउनु भयो ।

सिद्धिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका निर्वतमान कोषाध्यक्ष दिपक लामिछानेले आर्थिक वर्ष २०७९-०८० मा १ करोड १० लाख ११ हजार रुपैयाँ शेयर पुजी बृद्धि भई १ करोड २१ लाख ५८ हजार रुपैयाँ पुगेको जानकारी दिनुभयो । उहाँले संस्थाले आ.व. २०७८-०७९ भन्दा आ.व. २०७९-०८० मा २९ लाख ९२ हजार ३ सय रुपैयाँ ६३ पैसा खुद नाफा भएको बताउनु भयो । निर्वतमान कोषाध्यक्ष लामिछानेले सात वर्ष अघि २५ जना सदस्यबाट सुरु गरिएको सहकारीमा अहिले पुरुष ४८९ र महिला ३४० गरी ८४७ जना सदस्य रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा वडा नम्बर ६ का कार्यबहाक अध्यक्ष विवेक ढकाल, चन्द्रागिरि नगरपालिकाका पूर्व नगर सहकारी प्रमुख रजश खड्कालगायतको उपस्थिति रहेको थियो ।









