सिन्धुली-  सिन्धुलीको फिक्कल गाउँपालिकामा यात्रुवाहक टाटा सुमो दुर्घटना हुँदा तीन जना महिलाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा घाइते भएका चालकसहित चार जनाको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।प्रहरीका अनुसार आइतबार बिहान करिब २ बजेर ३० मिनेटमा काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको टाटा सुमो फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट करिब दुई सय मिटर तल सुनकोशी नदीमा खसेको हो।दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा खोजी कार्य सुरु गरेको थियो। घटनास्थलमा तीन जना महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। मृतकहरूको पहिचान भने खुल्न बाँकी छ।

दुर्घटनामा घाइते हुनेहरूमा ओखलढुंगाका अन्दाजी २९ वर्षीय चालक आशिष विष्ट, खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई तथा दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक रहेका छन्।उनीहरूलाई उद्धार गरी उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर प्रालिमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार चालक विष्ट बेहोस अवस्थामा रहेका छन् भने सम्झना राईको अवस्था गम्भीर छ। सिवानी र अंकितको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीहरू दुवै बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

तीन जना यात्रु अझै बेपत्ता

दुर्घटनाग्रस्त सुमोका चालकबाट प्राप्त प्रारम्भिक जानकारीका आधारमा थप तीन जना यात्रु बेपत्ता रहेको आशंका गरिएको छ। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। सुमोमा जम्मा कति जना यात्रु सवार थिए भन्ने यकिन हुन बाँकी छ। बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी रहेकाले दुर्घटनामा संलग्न यात्रुहरूको पूर्ण विवरण प्राप्त हुन सकेको छैन।दुर्घटनाको खबर पाएलगत्तै प्रहरी चौकी रत्नावती र खाङसाङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षकको कमान्डमा थप प्रहरी टोली परिचालन गरिएको छ।दुर्घटनास्थल इलाका प्रहरी कार्यालय खुर्कोटबाट करिब ६० किलोमिटर पूर्वमा रहेको जनाइएको छ।सुनकोशी नदीमा खसेको सुमोमा सवार बेपत्ताहरूको खोजी, मृतकहरूको पहिचान र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय