सिराहा जिल्ला सदरमुकामस्थित कारागारमा नाइके नियुक्तिका विषयमा उत्पन्न विवादले हिंसात्मक रुप लिँदा १३ जना कैदीबन्दी घाइते भएका छन्। कारागारको आन्तरिक शक्ति संघर्षले झडपको रुप लिएपछि अहिले जेल परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।झडपमा कारागारका नाइके दीपक ठाकुर, मूलनाइके बरुण महतो, चौकीदार विजय महतोसहित थुप्रै कैदीहरू संलग्न भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी (सप्रजिअ) चेतराज बरालले झडपको पुष्टि गर्दै घाइतेहरूको उपचारको व्यवस्था मिलाइएको जानकारी दिनुभयो। “स्थिति अहिले नियन्त्रणमा छ, थप झडप हुन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ,” उहाँले भन्नुभयो।यसअघि शनिबारमात्रै स्थानीय प्रशासनले कारागारमा अवैध गतिविधि भइरहेको आशंकामा अनुगमन गरेको थियो। प्रशासनको टोलीले कैदीहरूबाट चलाइएका केही अवैध कामबारे प्रारम्भिक तथ्य पनि संकलन गरेको थियो।

२०० कैदीको क्षमताको सिराहा कारागारमा हाल ४५८ जना कैदीबन्दी राखिएको छ। भीडभाडका कारण व्यवस्थापनमा समस्या हुँदै आएको कारागार प्रशासनले जनाएको छ।स्थानीय बासिन्दा र मानवअधिकारकर्मीहरूले बारम्बार कारागार सुधारको माग गर्दै आएका छन्। पछिल्लो घटनाले कैदीहरूको अधिकार, सुरक्षा, र जेल प्रशासनको पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ। प्रहरी र जिल्ला प्रशासनले घटनाको विस्तृत अनुसन्धान सुरु गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय