अमेरिकाले सिरियामा सक्रिय इस्लामिक स्टेट (आईएसआईएस) सँग सम्बन्धित क्याम्प, हतियार भण्डारण स्थल तथा पूर्वाधारलाई निशाना बनाउँदै व्यापक हवाई आक्रमण गरेको छ। यो कारबाही अन्तर्गत करिब ७० स्थानमा हमला गरिएको जनाइएको छ। हालै सिरियामा भएको एक आक्रमणमा दुई अमेरिकी सैनिकको ज्यान गएको घटनापछि त्यसको प्रतिकारस्वरूप अमेरिकाले यो सैन्य कदम चालेको बताइएको छ। अमेरिकी सञ्चार माध्यमका अनुसार उक्त अभियानलाई ‘अरेसन हकवाइ’ नाम दिइएको छ। आक्रमणमा आईएसआईएससँग जोडिएका विभिन्न सैन्य संरचना र लजिस्टिक केन्द्रहरू ध्वस्त पारिएको अमेरिकी पक्षको दाबी छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आतंकवादी समूहविरुद्ध कडा कारबाही भइरहेको बताएका छन्। उनले आईएसआईएसको अन्त्य भए सिरियामा स्थायित्व र उज्यालो भविष्य सम्भव हुने उल्लेख गरेका छन्।

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले यो कारबाहीलाई युद्ध नभई आत्मरक्षा र बदला स्वरूपको कदम भएको बताएका छन्। उनका अनुसार अमेरिका आफ्ना नागरिक र सैनिकको सुरक्षामा कुनै सम्झौता नगर्ने नीति लिन्छ। डिसेम्बर १३ मा सिरियाको पाल्माइरा क्षेत्रमा भएको आक्रमणमा दुई अमेरिकी सैनिक र एक नागरिक अनुवादकको मृत्यु भएको थियो। त्यसयता अमेरिकी तथा साझेदार सेनाले विभिन्न छुट्टाछुट्टै कारबाहीमार्फत दर्जनौँ संदिग्ध लडाकूलाई मारिसकेको जनाइएको छ। हाल सिरियामा सयौँ अमेरिकी सैनिक तैनाथ छन्। पछिल्लो हवाई आक्रमणमा जोर्डनलगायत अमेरिकाका साझेदार राष्ट्रहरूले पनि सहयोग गरेका छन्। यद्यपि, पछिल्लो आक्रमणकारीहरूको आईएसआईएससँगको सम्बन्ध पूर्ण रूपमा पुष्टि भइनसकेको र आईएसआईएसले औपचारिक जिम्मेवारी नलिएको अमेरिकी तथा सिरियाली अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय