धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट पुनरावलोकन तथा आवश्यक परिमार्जनसहित पुनर्लेखन गर्ने प्रक्रिया अघि बढाएको छ। तत्कालीन सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेट पारित हुन नसकेपछि नयाँ सरकारले बजेटलाई पुनरावलोकन गरेर अघि बढाउने निर्णय गरेको हो। शनिबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउन आर्थिक मामिला मन्त्रालयलाई आवश्यक अधिकार दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले जानकारी दिनुभयो।

सरकारले बजेटका विभिन्न शीर्षक र कार्यक्रमको पुनरावलोकन गरी आवश्यक संशोधन तथा परिमार्जन गरेर अन्तिम रूप दिने तयारी गरेको छ। लामो समयदेखि बजेट निर्माण र कार्यान्वयनमा अन्योल देखिएपछि सरकारले प्रक्रिया तीव्र बनाएको हो। मुख्यमन्त्री खगराज भट्टले करिब दुई महिनादेखि प्रदेशमा बजेट शून्यताको अवस्था रहेकाले सकेसम्म भदौभित्रै बजेट ल्याउने तयारी भइरहेको बताउनुभयो। पुनरावलोकन र पुनर्लेखनपछि बजेट प्रदेशसभामा पेश गर्ने सरकारको तयारी छ।

मन्त्रिपरिषद्को निर्णयसँगै प्रदेशमा देखिएको बजेटसम्बन्धी अन्योल अन्त्यतर्फ अघि बढेको छ। यद्यपि बजेट प्रदेशसभाबाट पारित गराउन आवश्यक राजनीतिक सहमति जुटाउनु सरकारका लागि अर्को चुनौतीका रूपमा देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय