काठमाडौँ । सरकारले सुचना प्रविधिको बिकासलाइ उच्च प्राथमिकतामा राखेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनु भएको छ ।
मन्त्री शर्माले सरकारले व्यवस्थितरुपमा ऐन कानूनलाई परिमार्जन गरेर सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित गरी मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार बनाउने बताउनु भएको हो । सर्वाङ्गीण विकास अध्ययन संस्था (आईआईडीएस) ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले सूचना प्रविधिको विकासका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको र अब नेपालबाट विदेशमा श्रमिक नभएर सेवा निर्यात गर्न सक्नुपर्नेमा जोड दिनुभयो । पुराना कार्यक्रमको परिमार्जन गरि विज्ञहरुको सुझाव लिएर सरकारले नयाँ कार्यक्रमको थालनी गर्दै अघि बढ्ने र यसका लागि सबैको सहकार्य आवश्यक रहेको मन्त्री शर्माले बताउनुभयो ।



संघीय निजामती ऐनमा आईटी समूह राख्नका लागि प्रयास भइरहेको जानकारी गराउदै मन्त्री शर्माले सरकारी सेवालाई नै आधुनिक बनाउनुका साथै पूर्वाधार निर्माण र सेवाको गुणस्तर बढाउन सरकारले काम गरिरहेको जानकारी गराउनु भयो । ‘आधुनिक जीवनको आधारः सूचना प्रविधि र सरकार’ भन्ने मूल नाराका साथ नेपाल सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै शर्माले सरकारको कूल पूँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिएको बताउनु भयो ।



