काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सूर्तिजन्य पदार्थको बिक्रि वितरण तथा प्रदर्शनमा बन्देज लगाएको छ ।
नगरपालिकाले एक सुचना जारी गर्दै सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ११ बमोजिम सूर्तिजन्य पदार्थको बिक्रि वितरण तथा प्रदर्शनमा बन्देज लगाउने आशय सहितको सुचना जारी गरेको हो ।
चन्द्रागिरि नगरपालिकाको बालबालिकाको वस्तुस्थिति विबरण २०८० अनुसार कुलतमा लागेका बालबालिका मध्ये लागु पदार्थ प्रयोग गर्ने छोरा ६ दशमलव ८ प्रतिशत र छोरी ५ दशमलव ६ प्रतिशत देखिएको छ । धुम्रपान गर्ने छोरा–छोरी शून्य दशमलव एक प्रतिशत देखिएको नगरपालिकाको तथ्यांक छ ।



बालबालिकालाइ सूर्तिजन्य कुलतमा संलग्न हुनबाट बचाउन नगरपालिकाले सूर्तिजन्य पदार्थको बिक्रि वितरण तथा प्रदर्शनमा बन्देज लगाउने निर्णय गरेको हो । १८ वर्ष नपुगेका ब्यक्ति र गर्भवती महिलालाई सूर्तीजन्य पदार्थ बिक्रि बितरण गर्न वा निःशुल्क उपलब्ध गराउन नपाइने सुचनामा उल्लेख छ ।
त्यस्तैै, शिक्षण संस्था, स्वास्थ्य संस्था, बाल गृह, शिशु स्याहार केन्द्र, बृद्धाआश्रम लगायत नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको सार्वजनिक स्थलबाट एक सय मिटर भित्रका घर पसलबाट सूर्तिजन्य पदार्थ बिक्री बितरणमा बन्देज गरिएको चन्द्रागिरि नगरपालिकाका सामाजिक शाखा प्रमुख एवम् महिला विकास अधिकृत रश्मी श्रेष्ठले जानकारी दिनुभयो ।



