जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा दुई चरणमा अभियोग पत्र दर्ता गर्ने भएको छ। सरकारी वकिलको कार्यालयले शुक्रवार सहकारीका तत्कालीन अध्यक्ष एवं ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । अब बाँकी प्रतिवादी विरुद्ध आइतबार मुद्दा गराउने तयारी गरेको छ। जिल्ला सरकारी वकिल कार्यालय कास्कीका प्रमुख कमला काफ्लेका अनुसार हदम्याद नभएकाले केही प्रतिवादीविरुद्ध आज पूरक अभियोग पत्र दर्ता भएको र बाँकीको हकमा आइतबारसम्म म्याद भएकाले दर्ता हुनेछ। शुक्रवार ३ बजेसम्म कार्यालय समय भए पनि अन्तिम समयमा अदालत पुगेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको हकमा अर्को अभियोग पत्र पेस हुनेछ। आज मुद्दा दर्ता भएका सबै प्रतिवादीहरू फरार छन् । केहीको हकमा सम्पत्ति शुद्धीकरणको अभियोग पनि दाबी गरिएको छ । लामिछानेलाई कात्तिक २ गते पोखराको सूर्यदर्शनसहित विभिन्न सहकारीका रकम गोरखा मिडियामा लगेर अपचलन गरेको आरोपमा पक्राउ गरिएको थियो। सोही प्रकरणमा असोज ६ गते नेपाल प्रहरीका पूर्वडीआईजी तथा गोरखा मिडियाका सञ्चालक छविलाल जोशीलाई पनि पक्राउ गरिएको थियो।

प्रहरीले लामिछाने, जोशीसहित पाँच जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा चलाउनुपर्ने रायसहित अनुसन्धान प्रतिवेदन तयार पारेको छ। प्रतिवेदनअनुसार पाँचजनाबाट १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने उल्लेख गरिएको छ। सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुनअनुसार ९० दिनभित्र अनुसन्धान कार्य पूरा गरेर अभियोजन गर्नुपर्ने प्रावधान छ। संसदीय छानबिन विशेष समितिले विभिन्न सहकारीका रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गर्ने कार्यमा लामिछानेसहित जीबी राई, पूर्वडीआईजी जोशी, र कुमार रम्तेल संलग्न रहेको ठहर गर्दै कारबाही सिफारिस गरेको थियो। रम्तेल हाल कास्की कारागारमा थुनामा छन् भने जीबी राई फरार छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय