८ भदौ, पोखरा — पोखरामा संचालन भएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था सम्बन्धी ठगी प्रकरणमा मुछिएका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन १० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्।लामो समय फरार रहेका बम्जन आइतबार कास्की जिल्ला अदालतमा उपस्थित भएका थिए। न्यायाधीश शंकरकुमार राईको इजलासमा बयान दिएपछि अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो। अदालतका सूचना अधिकारीका अनुसार बम्जनले माग गरिएको १० लाख धरौटी बुझाएका छन्।



बम्जन, सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु ९जीवी० राईका जेठान हुन्। उनी २०६५ सालतिर पोखरा आइपुगेका थिए र यही समूहद्वारा सूर्यदर्शन सहकारीको दतर्थ समिति गठन गरिएको थियो। सुरुमा पूर्व गोर्खा सैनिकहरूमार्फत सदस्यता विस्तार गर्दै सहकारीको जालो फैलाइएको थियो। बम्जनमाथि व्यक्तिगत रूपमा २६ लाख ७० हजार रुपैयाँभन्दा बढी अपचलन गरेको आरोप छ भने उनको अध्यक्षतामा संस्थाबाट करिब १ करोड ५४ लाख रुपैयाँ हिनामिना भएको दाबी गरिएको छ।
सहकारी ठगीको मुख्य मुद्दा २०८० साल असोज १८ गते दायर भएको हो, जसमा संस्थागत र व्यक्तिगत गरी ६३ जनाविरुद्ध अभियोजन प्रस्तुत गरिएको छ। कुल ठगी रकम १ अर्ब ५१ करोड रुपैयाँ पुगेको भन्दै बिगो माग गरिएको छ। यस प्रकरणमा राजनीतिक तहसम्म जोडिएको देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने समेत सोही प्रकरणमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए।



