रुकुम पश्चिम जिल्ला अदालतले चौरजहारी नगरपालिका–८ को सोतीमा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको घटनामा २३ जनालाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ । मंगलबार जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले २३ जनालाई जन्मकैदको सजाय सुनाएको हो । यसअघि धरौटीमा छुटेका आठ जनालाई अदालतले सफाइ दिएको छ ।
त्यस्तै, अदालतले जातीय छुवाछुतको कसुरमा नवराजकी प्रेमिका र उनकी आमालाई २-२ वर्षको कैद र ५० हजार जरिबानाको फैसला सुनाएको छ । २०७७ जेठ १० गते जाजरकोटको रानागाउँका २१ वर्षीया नवराज विक साथीहरूसहित चौरजहारी–८ की मल्ल थरकी प्रेमिकालाई लिन गएका थिए । दलित युवकले ठकुरीको छोरीलाई भगाउन लागेको भन्दै सोती गाउँका स्थानीयले आक्रमण गर्दा नवराजसहित ६ जनाको ज्यान गएको थियो । १२ जना घाइते भएका थिए ।







