झापा– झापाका स्थानीय किसानले उत्पादन गरेको महको बजारीकरणमा समस्या देखिएको छ । मेहनत र लगानी गरेर उत्पादन गरेको महले बजार पाउन नसक्दा किसान समस्यामा परेका छन् ।
झापा कनकाई नगरपालिका ४ का भुवन अधिकारी र देवि नारायण अधिकारीले २४ बर्षदेखि व्यावसायिक मौरी पालन गरिरहेका छन् । भारतको पञ्जावमा ७ बर्षसम्म रोजगारीमा मौरीपालनको क्षेत्रमा काम गरेर नेपाल फर्किएपछि उनीहरु दाजुभाईले नेपालमै आएर मौरी पालन गर्न थालेका हुन् । २०५५ सालदेखि २२ गोलाबाट सुरु गरेको मौरीपालन अहिले आएर १ हजार गोलामा पुगेको छ । अहिले सिजन भएकोले दैनिकजसो मह काढ्न उनीहरुलाई भ्याई नभ्याई छ । तर उत्पादित महले उचित बजार नपाउंदा चिन्तामा छन् ।



सदस्यलाई कृषि र पशुपालनमा जोड्दै उत्पादन र बजारीकरणमा सहयोग पु¥याउन खुलेका सहकारीको साथ समेत नपाएको उनीहरुको गुनासो छ । कांकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउदेश्यि (एनएमसी) सहकारीले आफ्नै सदस्य किसानले उत्पादन गरेको मह किन्न आनाकानी गरेको उनीहरु बताउंछन् ।
स्थानीय उत्पादनलाई प्रवद्धन गर्दै कृषि र पशुपालनमा युवाको आकर्षण बढाउने भन्दै खुलेका सहकारीहरुको कार्यशैली उद्धेश्यअनुरुप नहुँदा अधिकारी दाजुभाईजस्ता स्थानीय स्तरमै केहि गरौ भन्ने युवाको आत्मवल त घटेको छ नै कृषि र पशुपालनमा सम्भावना हुंदा हुंदै पनि बजारीकरणको समस्याले पेशाबाटै पलायन हुने स्थिति देखिएको छ । तसर्थ यस तर्फ सम्बन्धीत निकायको ध्यान जान जरुरी छ ।



