काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह जसरी सार्वजनिक रुपमा स्वच्छन्दवादी देखिनुहुन्छ, जसरी सामाजिक सञ्जालहरुमा छरपस्ट देखिनुहुन्छ, त्यसैगरी कार्यपालिकामा पनि उहाँको स्वच्छन्द चरित्र देखिरहनु भएकै होला । महानगरले प्रायः आफ्ना कार्यपालिका बैठक लाइभ गर्ने भएकाले त्यहाँ के हुन्छ ? छलफल कसरी हुन्छ ? उपमेयरदेखि वडाध्यक्षहरुले कसरी आफ्ना कुरा राख्छन् र निर्णय कसरी गरिन्छ भन्ने पनि धेरैलाई थाहा नै होला । के तपाईँलाई महानगरका निर्णयहरु उपमेयरसहितको सुझावका आधारमा भन्दा उत्तेजनाबाट बढी निर्देशित भएको लाग्दैन ?

स्थानीय तहको प्रमुख कस्तो हुनुपर्छ ? सायद तपाईंसँग यसको रेडिमेड जवाफ छ, बालेन शाह जस्तो । वा हर्क साम्पाङ वा कसैकसैलाई गोपाल हमाल जस्तो भन्ने पनि लाग्ला ।तपाईलाई धादिङको नीलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगाना वा धादिङकै बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया अथवा, रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाण जस्तो हुनुपर्छ भन्ने सायदै लाग्ला । किनकी उनीहरु भाइरल छैनन्, तर यी व्यक्तिले नेतृत्व गरेका पालिकाहरु संस्थागत क्षमता स्वमूल्यांकनमा देशभरमै सबैभन्दा उत्कृष्ट छन् र सरकारबाट पुरस्कृतसमेत भएका छन् ।प्रसंग यहाँ मेयरको भन्दा पनि उपमेयरको हो । उपमेयर त सम्बन्धित पालिकाको बाहेक अन्यत्रको कसैले याद गर्छ भने त्यो काठमाडौंको नै हो, सुनिता डंगोल । नामले र कामलेसमेत चर्चित । संविधान तथा स्थानीय तह कार्य सञ्चालन ऐनले उपमेयर तथा उपाध्यक्षलाई पनि राम्रो भूमिका दिएको भए पनि चर्चा प्रमुखकै धेरै हुँदा उपमेयरहरु लगभग गुमनाम छन् ।

स्थानीय तह कार्य सञ्चालन ऐन २०७४ ले उपाध्यक्ष/उपप्रमुखलाई न्यायिक समितिको नेतृत्व गर्ने, अध्यक्ष र प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने, गैरसरकारी संघ, संस्थाका क्रियाकलापको समन्वय गर्ने, उपभोक्ता हित संरक्षणसम्बन्धी कार्य समन्वय गर्ने, योजना तथा कार्यक्रम अनुगमन तथा सुपरीवेक्षण गरी सोको प्रतिवेदन बैठकमा पेश गर्ने, सभा र कार्यपालिकाद्वारा गठित समितिहरूको काममा सहजीकरण र समन्वय गर्ने, सभा, कार्यपालिका तथा अध्यक्ष वा प्रमुखले प्रत्यायोजन गरेका वा तोकेका अन्य कार्य गर्ने व्यवस्था गरेको छ । यी भूमिका एउटा व्यक्तिका लागि पर्याप्त र गम्भीर छन् । तै पनि चर्चा हुँदैन । तपाईंले केही दिनअघि मात्रै सुन्नु भएको होला, बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल र उपमेयर भोलाप्रसाद अधिकारीबीचको जुहारी, दुई वर्षअघि सप्तरीको छिन्नमस्ता गाउँपालिकाका तत्कालीन अध्यक्ष र उपाध्यक्षबीचको कुटाकुट समेत । यस्ता कयाैँ स्थानीय तह छन्, जुन प्रमुख र उपप्रमुखको बेमेलका कारण अस्तव्यस्त छन् ।

स्थानीय तहको प्रमुख र उपप्रमुखबीच जब सह–अस्तित्वको लडाईं हुन्छ, त्यसले स्थानीय तह प्रमुखलाई मात्र होइन, समग्र पालिकालाई नै असफल बनाउँछ । धेरै पालिका असफल हुनुको कारण यी दुई पदमा पदासीनहरुको विवाद हो । काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल पनि मेयर बालेन शाहका अधिकांश कार्यशैलीमा सन्तुष्ट हुनुहुन्न । तर उहाँ संविधान र कानूनले दिएका अधिकारको विरोध गर्न, आफ्नो राजनीतिक शक्ति देखाउन वा मेयरलाई समग्रमा असफल बनाएर आफ्नो राजनीति सुरक्षित बनाउने प्रयत्नमा हुनुहुन्न । बरु आफ्ना असहमतिहरु शालीन रुपमा कार्यपालिका बैठकमा पेश गर्ने र मेयरलाई सोचविचार गरी निर्णय लिन सुझाव दिने काम गर्नुहुन्छ, गरिरहनु भएको छ । पछिल्लोपटक नदी किनारका संरचना हटाउने सन्दर्भमा महानगरले निकालेको सूचनाबारे पनि उहाँको असन्तुष्टि सुनिएको छ । त्यसअघि महानगरको बजेटको सन्दर्भमा, अभियन्ता ईः को आन्दोलनका सन्दर्भमा, टुकुचा नदी उत्खनन् गर्ने सन्दर्भमा, विभिन्न ठाउँमा डोजर चलाउने सन्दर्भमा पनि सुनिताको असहमति थियो । ती असहमतिलाई शालिनताका साथ पेश गर्ने र गल्ती नदोहोरियोस् भनेर सचेत गराउने भूमिका उहाँले निर्वाह गरिरहनु भएको छ । उहाँको यही भूमिका कारण मेयर बालेन शाह कतिपय निर्णयहरु सच्याउने ठाउँमा समेत पुग्नु भएको छ । तर भीड उपप्रमुखको शालिनतामा भन्दा प्रमुखको उग्रतामा रमाइरहेको छ र भनिरहेको छ, जय जय ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय