सर्लाहीको बरहथवामा स्थानीय प्रशासनले पुन करफ्यु लगाएको छ । प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव तीन दिनदेखि उठन नसकिरहेको अवश्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले पुन करफ्यु आदेश जारी गरेको हो । जिल्ला प्रशासनले जारीगरेको विज्ञप्तीमा आईतबार दिउसो १२ ४५ बजेबाट सोमबार विहान ८ बजेसम्म कर्फुयु लाग्ने जानकारी दिईएको छ ।
बरहथवा नगरपालिका–६ का करिब २७ वर्षीय साहको शुक्रबार दिउँसो प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो । मृतकका आफन्त र आन्दोलनरत स्थानीयले विभिन्न माग राख्दै शव उठाउन मानेका छैनन् । आफन्त र स्थानीयले नमान्दा अझैसम्म मृतक युवकको शव उठाउन नसकिएको प्रशासनले जनाएको छ । सहमति प्रयासका लागि आज जिल्ला प्रशासनमा सर्वदलीय बैठक बोलाइएको छ । बरहथवामा आन्दोलनरत पक्षले घटनाको छानविन, दोषीलाई कारबाही, मृतकलाई सहीद घोषणा, पीडित परिवारलाई राहत, नगर अस्पतालाई ५० शैय्यामा स्तरोन्ती, मृतकको नाममा अस्पतालको नामाकरण र बरहथवामा मृतकको शालिक निर्माण गर्नुपर्ने माग गरेको छ ।



बरहथवाको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी ५० शैय्याको बनाएर मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने मागसहित कांग्रेसको नेतृत्वमा भएको आन्दोलनको क्रममा शुक्रबार दिउँसो गोली चल्दा साहको मृत्यु भएको हो । घटनामा प्रहरीसहित १० जना घाइते भएका छन । सरकारले शुक्रबार र शनिबार बरहथवा बजार क्षेत्रमा कफ्यु र निषेधाज्ञा लगाएकोमा आज भने हटाएको छ । सरकारले मृतक युवकका आश्रित परिवारलाई १० लाख राहत दिने घोषणा गरिसकेको छ ।
त्यसैगरी घटनाको छानविनको लागि गृहमन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी सदस्य रहेको समिति पनि गठन गरेको छ । घटनाबारे सत्यतथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न समितिलाई समयसीमा तोकिएको छ ।




