एजेन्सी। स्पेसएक्सको फाल्कन–९ रकेटको प्रयोगविहीन माथिल्लो भाग (अपर स्टेज) चन्द्रमासँग ठोक्किएको प्रारम्भिक संकेत प्राप्त भएको छ। यद्यपि, वैज्ञानिकहरूले घटनाको आधिकारिक पुष्टि हुन अझै बाँकी रहेको बताएका छन्।
घटना प्रत्यक्ष रूपमा अभिलेख हुन सकेको छैन, किनभने ठोक्किने समयमा चन्द्रमाको परिक्रमा गरिरहेका कुनै पनि अन्तरिक्षयान उपयुक्त स्थानमा थिएनन्। अब वैज्ञानिकहरूले चन्द्रमाको सतहका पुराना र नयाँ तस्बिरको तुलना गरेर नयाँ खाल्डो वा अन्य परिवर्तनको खोजी गर्नेछन्।



चिलीस्थित परानाल वेधशालाका टेलिस्कोप सञ्चालक रोड्रिगो पालोमिनोसले ठोक्किने अनुमानित समयमा प्रकाश उत्सर्जनमा असामान्य परिवर्तन देखिएको जानकारी दिएका छन्। उनका अनुसार यो ठोक्किएपछि बाहिर निस्किएको पदार्थको प्रारम्भिक संकेत हुन सक्छ, तर अन्तिम निष्कर्ष थप विश्लेषणपछि मात्र निकालिनेछ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यस घटनाबाट पृथ्वीलाई कुनै खतरा नरहेको स्पष्ट पारेको छ। बरु, यसबाट चन्द्रमाको सतहको अध्ययन, प्रभावका कारण हुने परिवर्तनको विश्लेषण तथा अन्तरिक्षमा रहेका वस्तुको निगरानी प्रविधि अझ प्रभावकारी बनाउन महत्त्वपूर्ण वैज्ञानिक जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।



