स्पेसएक्स ले इतिहासकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपीओ) ल्याउने तयारी सार्वजनिक गरेको छ । बुधबार जारी प्रोस्पेक्टसअनुसार एलन मस्कको यो अन्तरिक्ष कम्पनीले दर्जनौँ अर्ब डलर बराबरको सेयर बिक्री गर्ने योजना अघि सारेको छ, जसले विश्व वित्तीय बजारमा ठूलो चासो र बहस सिर्जना गरेको छ ।

कम्पनीको विवरणअनुसार स्पेसएक्सले गत वर्ष ८ अर्ब ७० करोड डलर राजस्व आर्जन गरे पनि ५ अर्ब ६० करोड डलर सञ्चालन घाटा व्यहोरेको थियो । यो वर्षको सुरुआती महिनामा पनि घाटा निरन्तर रहेको उल्लेख छ । अन्तर्राष्ट्रिय रिपोर्टहरूका अनुसार प्रस्तावको आकार ७५ अर्ब डलर वा त्यसभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ ।

यदि यो सफल भयो भने यो आइपीओले २६ अर्ब डलर उठाएर कीर्तिमान बनाएको साउदी अरामकोलाई समेत उछिन्नेछ । कम्पनीले उठ्ने रकम मानवलाई बहुग्रहीय प्रजाति बनाउने लक्ष्यसहित चन्द्रमा र मंगल ग्रहमा मानव बस्ती विकास परियोजनामा प्रयोग गर्ने जनाएको छ ।

स्पेसएक्सका अनुसार यसको उपकम्पनी स्टारलिङ्कले गत वर्ष ४ अर्ब ४० करोड डलर सञ्चालन आम्दानी गरेको छ र हाल करिब १५० देशमा एक करोडभन्दा बढी प्रयोगकर्तालाई इन्टरनेट सेवा दिइरहेको छ । तर एआई तथा अन्य केही परियोजनामा ठूलो घाटा देखिएको छ ।

कम्पनीको अधिकांश राजस्व अमेरिकी सरकारी सम्झौताबाट आउने गरेको छ भने नासा र रक्षा मन्त्रालयलगायत निकायसँग अर्बौं डलरका सम्झौता रहेको विवरणमा उल्लेख छ । यसले सरकारी ठेक्का र राजनीतिक सम्बन्धबारे पनि बहस चर्काएको छ ।

प्रोस्पेक्टसअनुसार एलन मस्कको आधारभूत तलब ५४ हजार ८० डलर मात्र भए पनि उनको प्रमुख लाभ स्टक अनुदानमा आधारित छ । यदि कम्पनीको मूल्यांकन ७५ खर्ब डलरसम्म पुगेमा मस्क विश्वकै पहिलो ट्रिलियनियर बन्न सक्ने सम्भावना पनि देखिएको छ । स्पेसएक्सले आगामी जुन ४ देखि लगानीकर्ता ‘रोड शो’ सुरु गर्न सक्ने अनुमान गरिएको छ, जसपछि आइपीओ प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय