सशस्त्र प्रहरीले महोत्तरीको नेपाल भारत सीमा नाका मटिहानीबाट स्रोत नखुलेको १४ लाख नेपाली रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–१९ का २३ वर्षीय राजु यादव र भारत सीतामढी जिल्ला पश्चिम चरौतका ४८ वर्षीय अवधेश मण्डल रहेका छन् ।
भारतीय बजार मधवापुरबाट नेपालतर्फ आउँदै गरेका भारतीय नागरिक मण्डललाई खानतलासी गर्दा एक हजार दरका दुई सय र पाँच सय दरका चार सय वटा नोटहरू गरी चार लाख नेपाली रुपैयाँ बरामद भएको थियो । राजु यादवबाट एक हजार दरका सात सय वटा र पाँच सय दरका छ सय वटा नेपाली रुपैयाँ गरी १० लाख फेला परेको सशस्त्र प्रहरी निरीक्षक भोलाकुमार श्रेष्ठले जानकारी दिएका हुन् । दुवै जनालाई थप अनुसन्धान गरी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।






