काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति जनाएको छ । एशोसियसनले आज एक विज्ञप्ति जारी गरी मंसिर १० देखि लागू हुनेगरी वैदेशिक रोजगारमा जाने कामदारका लागि एकैपटक ठूलो भार पर्नेगरी स्वास्थ्य शुल्क बढाएको भन्दै आपत्ति जनाएको हो ।

सरकारले युएई मुलुकका हकमा ४ हजार ५ रुपैयाँबाट दोब्बर बढाएर ९ हजार ५ सय र अन्य मुलुकको हकमा ६ हजार ५ रुपैयाँ बाट ९ हजार ५ सय पु¥याएको छ । शुल्क बृद्धिले वैदेशिक रोजगारमा जाने गरिबी र विपन्न अवस्थाका कामदारमाथि निकै भार परेको एशोसिएसनले जनाएको छ ।

एशोसियसनका अध्यक्ष दीपक थापाले खाडी तथा मलेसिया जाने कामदारका लागि १० दश हजार रुपैयाँ सेवा शुल्क तोकेको अवस्थामा स्वास्थ्य परीक्षण शुल्क नै ९ हजार ५ सय लिनु गम्भीर आपत्ति भएको जनाउनु भयो । रोजगारीका लागि विशेषगरी मलेसिया र खाडीमुलुक जाने नेपाली अतिविपन्न अवस्थामा रहेकाले ती मुलुकमा दैनिक १ हजार ५ सय युवा रोजगारका लागि जाने गरेको र उक्त निर्णयले विपन्न श्रमिकमाथि आर्थिक भार थप्ने एशोसियसनले जनाएको छ ।

नेपालमा हुने स्वास्थ्य परीक्षण केबल श्रम स्वीकृतिको कानुनी प्रक्रिया पूरा गर्ने औपचारिकता मात्रै भएको एशोसियसनको भनाइ छ । एशोसियसनले विपन्न अवस्थामा रहेका कामदारमाथि आर्थिक भार हुनेगरी गरिएको स्वास्थ्य परीक्षण शुल्क बृद्धि तत्काल फिर्ता लिन आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय