वीरगंज । हरि खेतान बहुमुखी क्याम्पस वीरगंजमा विवाद बढेको छ । क्याम्पस सभाले २०७९ सालमा तीन वर्षको लागि चयन गरेको क्याम्पस सञ्चालक समितिलाई अपदस्थ गरेर प्रेमप्रकाश खेतानले आफू अनुकूलको क्याम्पस सञ्चालक समिति गठन गरेको घोषणा गरेपछि विवाद बढेको हो । क्याम्पस सञ्चालक समितिले क्याम्पस प्रमुख डा भगवानप्रसाद यादव सहित केही कर्मचारीलाई अवकाश दिएपछि विवाद चुलिएको हो ।
क्याम्पस प्रशासनले संशोधित विद्यान अनुसार ६३ वर्ष उमेर पुगेकोले अनिवार्य अवकाश दिएको र निमित्त क्यँम्पस प्रमुखमा किशोर रायलाई नियुक्त गर्ने निर्णय गरेको जनाएको छ । तर क्याम्पस प्रमुख डा यादव भने खेतान अध्यक्ष रहेको सञ्चालक समिति बैद्य नभएको दाबी गरेका छन । खेतानले सामुदायिक क्याम्पसलाई निजी बनाउने उद्देश्यले अवैध तरीकाबाट सञ्चालक समिति बनाएको उनको भनाइ छ । क्याम्पसमा हाल ४ हजार ९ सय विद्यार्थी अध्ययनरत छन भने १ सय ३६ शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन ।






