सिरहा । हेल्पिङ हर्ट नेपालको आयोजनामा बुधवार गोलबजार नगरपालिकामा एक विशेष सहयोग कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सिरहाका विभिन्न पालिका तथा गाउँपालिकाका ९५ जना अनाथ तथा विपन्न बालबालिकालाई प्रतिव्यक्ति १३,००० रुपैयाँका दरले नगद सहयोग प्रदान गरिएको हो।
स्थानीय स्तरमा बालबालिकाको जीवनस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमले उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।



कार्यक्रमका प्रमुख अतिथि गोलबजार नगरपालिकाका नगरप्रमुख श्री श्याम कुमार श्रेष्ठले बालबालिकाको संरक्षण, शिक्षा र जीवनस्तर अभिवृद्धि हाम्रो साझा दायित्व रहेको बताउँदै, हेल्पिङ हर्ट नेपालले समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्य गरिरहेको छ, जुन अत्यन्तै सराहनीय रहेको बताए । साथै, नगरपालिकाले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रममा सधैं सहकार्य गर्ने प्रतिबद्धता पनि जनाए।
कार्यक्रममा गोलबजारका प्रतिष्ठित व्यवसायी राम सगुन यादव, गोलबजार उद्योग वाणिज्य संघका अध्यक्ष विजय साह, नेपाल प्रहरी, वडाका अध्यक्षहरूको उपस्थिति रहेको थियो।
सामाजिक सेवामा सक्रिय हेल्पिङ हर्ट नेपालले विगतदेखि नै विपन्न, असहाय तथा अनाथ बालबालिकाहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।
कार्यक्रम सञ्चालन वडा नं. ११ का अध्यक्ष सोहेव अनवरले गरेको थियो।



