काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारी संस्थाका ठूला ऋणीहरूको विवरण सार्वजनिक गर्दै ऋण असुली प्रक्रियालाई थप कडाइका साथ अघि बढाएको छ । सहकारी क्षेत्रमा लामो समयदेखि देखिएको वित्तीय अव्यवस्था, बचतकर्ताको रकम फिर्ता नहुने समस्या र संस्थागत अपारदर्शिताबीच समितिको यो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
समितिले बुधबार जारी गरेको सूचनामार्फत पहिलो चरणमा १० वटा समस्याग्रस्त सहकारीसँग सम्बन्धित ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका ऋणीहरूलाई तत्काल समितिको कार्यालयमा सम्पर्क गरी बक्यौता चुक्ता गर्न आग्रह गरिएको छ । अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया, सम्पत्ति रोक्का तथा अन्य कानुनी कारबाही अघि बढाइने समितिको चेतावनी छ ।



समितिले सहकारी संकट गहिरिनुमा ठूलो परिमाणमा ऋण लिएर लामो समयसम्म नतिर्ने प्रवृत्ति प्रमुख कारणमध्ये एक बनेको छ । बचतकर्ताले आफ्नो निक्षेप फिर्ता नपाउँदा देशका विभिन्न भागमा आन्दोलन, धर्ना र विरोध प्रदर्शनसमेत भइरहेका बेला समितिले ठूला ऋणीमाथि सार्वजनिक दबाब बढाउने रणनीति अपनाएको देखिन्छ ।
यसअघि समस्याग्रस्त सहकारीहरूको व्यवस्थापन, सम्पत्ति संरक्षण तथा बचतकर्ताको रकम फिर्ता प्रक्रियामा केन्द्रित समिति अब प्रत्यक्ष रूपमा ऋण असुली अभियानमा उत्रिएको हो । समितिले अन्य समस्याग्रस्त सहकारीका ऋणीहरूको नामसमेत क्रमशः सार्वजनिक गरिने जनाएको छ । साथै स्वेच्छाले सम्पर्क गरी दायित्व पूरा गर्न सबै ऋणीलाई आग्रह गरिएको छ ।
समितिले विवरण सार्वजनिक गरेका सहकारी संस्थामध्ये घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटिभ सहकारी, गौतम श्री सहकारी र नेपाल सहकारी वित्तीय रहेका छन् ।
सहकारी क्षेत्रमा देखिएको संकटले सर्वसाधारणको विश्वास कमजोर बन्दै गएको अवस्थामा नियामक निकायको सक्रियता प्रभावकारी हुनुपर्ने मागसमेत बढिरहेको छ ।






