काठमाडौं । १३औं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाइनल खेल एपीएफ क्लबका प्रिन्स दाहालले जितेका छन् ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर–७ को माहांकाल ब्याडमिन्टन कबर्ड हलमा भएको फाइनल खेलमा एपीएफका प्रिन्सिले उपाधि जितेका हुन् । शीर्ष आठको पुरुष एकलतर्फ ललितपुरका प्रफुल महर्जनलाई २१–१८ र २२–२० को सोझो सेटमा पराजित गर्दै दाहालले उपाधि उचालेका हुन् । दाहाललाई राष्ट्रिय ब्याडमिन्टन संघले रोयल ईनफिल्ड हन्टर ३५० सीसीको मोटरसाइलले सम्मान गरेको छ । यही विधातर्फ एपिएफकै देवराज राना र नेपाल पुलिसका सुनिल जोशीले तेस्रो स्थान प्राप्त गरेका छन् ।




संघले पुष्पलाल स्मृति राष्ट्रिय र्याङकिङ प्रतियोगिताको लगातार तीन संस्करणमा विजय हासिल गर्ने खेलाडीलाई मोटरसाईकल प्रदान गर्ने घोषणा यसअघि गरेको थियो । दाहालको यो जितसँगै पुष्पलाल स्मृति राष्ट्रिय र्याङकिन प्रतियोगिताको चौथो जित हो । यो सम्मानबाट यसअघि नङ्गशल तामाङ्ग र रत्नजित तामाङ्ग सम्मानित भइसकेका छन् ।

प्रतियोगिताको शीर्ष आठको महिला एकल तर्फ भने ललितपुरकी रसिला महर्जनले जितेकी छिन् । भोजपुरकी नङ्गशल तामाङलाई १७–२१, २१–१५, २२–२० ले पराजित गर्दै महर्जनले जीत हात पारेकी हुन् । नेपाल पुलिसकी निता लम्साल र आर्मीकी अनुमाया राईले तेस्रो स्थानमामा चित्त बुझाउनु पर्यो ।

प्रतियोगिता विभिन्न विधामा खेलाईएको थियो । विजेतालाई नगद, ट्रफि, प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नेपाल ब्याडमिन्टर संघका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवि, व्यवसायीलगायतको उपस्थिति रहेको थियो ।



