अर्थमन्त्री वर्षमान पुनले भन्सार विधेयक, २०८० मा मालवस्तु भन्सार क्षेत्रमा प्रवेश गरेको १२ घण्टाभित्र ढुवानी साधनको विवरणसहित मालवस्तुको विवरण भन्सारमा अनिवार्य दिनुपर्ने व्यवस्था गरिएको बताएका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकमा भन्सार विधेयक, २०८० माथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले विधेयकमा मालवस्तु भन्सार क्षेत्रमा प्रवेश गर्नुभन्दा अगाडि नै पूर्वआगमन प्रशोधन प्रि अराएभल प्रोसेसिङको लागि विद्युतीय माध्यमबाट घोषणा गर्नसक्ने प्रावधान राखिएको बताए । उनले विधेयकमा महशुल बुझाउने दायित्व घोषणा हुने गरी किटान गरिएको पनि जानकारी दिए ।



निर्धारण भएको मितिले ७ दिनभित्र बुझाउनुपर्ने र आठौं दिनदेखि प्रत्येक दिन ०.०४२ प्रतिशत वार्षिक १५ प्रतिशत ब्याज लाग्ने व्यवस्था गरिएको अर्थमन्त्रीको भनाइ छ ।अर्थमन्त्री पुनले विधेयकमा ३० दिनसम्म ब्याजसहित महशुल बुझाउन सकिने र सो अवधिभित्र महशुल नबुझाए मालवस्तुको लिलाम गर्न सकिने प्रावधान पनि राखिएको बताए । त्यस्तै नयाँ विधेयकमा नेपालका कुनै उद्योगले कच्चा पदार्थ विदेशमा लैजान सक्ने र तयारी मालवस्तु बनाइ पुनः आयात गर्दा मूल्य अभिवृद्धिमा मात्र महशुल लाग्ने सुविधा प्रदान गर्ने प्रावधान राखिएको पनि जानकारी दिए ।



