पोखरा- २३ औं आहा रारा पोखरा गोल्डकपमा १२ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । सहारा क्लब पोखराको आयोजनामा यही माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुने फुटबलमा भारत र भुटानबाट समेत क्लब आउने भएका आयोजकले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
भारतको आई लिग क्लब दिल्ली एफसी र भुटानको शीर्ष श्रेणीको पारो एफसी क्लब आउने सहरा क्लबले जनाएको छ । भारतीय घरेलु फुटबल लिग आइलिगको सन् २०२३–२०२४ मा सातौं स्थानमा रहेको दिल्ली एफसी र भुटानको लिग च्याम्पियन क्लब पारो भुटान एफसीको सहभागिता रहने जनाएको छ । दिल्ली एफसी र भुटान एफसी पहिलो पटक नेपाल आउन लागेका हुन् ।



यसै गरी आयोजक सहारा क्लबसहित नेपालका ‘ए’ डिभिजनका क्लबहरु संकटा यूथ क्लब, चर्च ब्वाइज क्लब, मछिन्द्र एफसी, मनाङ मर्स्याङदी क्लब, जावलाखेल यूथ क्लब र थ्री स्टारको सहभागिता हुने छ भने विभागीय क्लब नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लब क्लबसमेतको सहभागिता रहनेछ । त्यसै गरी सुनवलको राइजिङ स्टार क्लबसमेत पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउने भएको छ । प्रतियोगितामा विजेतालाई नगद पुरस्कार १२ लाख र उपविजेतालाई ६ लाख नगद रहेको छ ।



