काठमाडौं । प्रतिनिधिसभा नरहेको समयमा बसेको राष्ट्रिय सभाको १९औँ अधिवेशन अन्त्य भएको छ । माघ ४ गते सुरु भएर फागुन १ गतेसम्म चलेको अधिवेशनले २७ दिनको अवधिमा केही विधेयक पारित गर्नुका साथै सरकारलाई संसदीय प्रश्नोत्तरमार्फत् जवाफदेही बनाउने प्रयास गरे पनि प्रतिनिधिसभा नहुँदा उसले गरेका कामले भने पुर्णता पाएका छैनन् ।

२७ दिनसम्म चलेको संघीय संसदको हिउँदे अधिवेशनअन्तर्गत राष्ट्रियसभाका ९ वटा बैठक बसे । जसमा सभाले १७ घण्टा २५ मिनेट वैठकमा समय व्यतित गरेको थियो । यो अधिवेशनमा पर्यटन विधेयक २०८१, चलचित्र विधेयक २०८१ र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक २०८१ लाई पारित गरी प्रतिनिधि सभामा पठाएको छ । यस्तै, अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । सरकारले पेश गरेका तीनवटा महत्वपूर्ण अध्यादेशहरू (मतदाता नामावली, प्रतिनिधि सभा सदस्य निर्वाचन र नेपाल विशेष सेवा ऐन संशोधन) सभाबाट सर्वसम्मत स्वीकृत भएका भएका छन् ।

यद्यपि, सरकारले सामाजिक सञ्जाल विधेयक २०८१ भने यही अधिवेशनमा फिर्ता लिएको छ । संसदीय निगरानी र शून्य समयमा सरकारलाई संसद्प्रति जवाफदेही बनाउन कानुन, संघीय मामिला र अर्थ मन्त्रालयसँग सम्बन्धित ४ वटा मौखिक प्रश्नोत्तर सञ्चालन गरिएका थिए । प्रादेशिक सरोकार समयमा ७ जना सदस्यले प्रदेशका समस्याबारे १ घण्टा १८ मिनेट छलफल भएको थियो । अधिवेशनका क्रममा विभिन्न संसदीय समितिका सभापतिले महत्वपूर्ण प्रतिवेदनहरू पेश गरे । राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२, अध्यागमन ऐन र प्रत्यायोजित विधायन सम्बन्धी प्रतिवेदन, राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्या सम्बन्धी प्रतिवेदन, सभाले यी प्रतिवेदनहरूमाथि छलफल गरी त्यसमा रहेका सुझावहरू प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशनसमेत दिएको छ ।

तर, प्रतिनिधिसभा नरहेको अवस्थामा राष्ट्रियसभाले गरेका विधेयकमाथिक कारबाही भने अधुरा नै रहेका छन् । संघीय संसदमा कुनै पनि विधेयक दुवै सदनमा छलफल गरेर पारित गर्ने संवैधानिक प्रावधानका कारण यो बीचमा बसेका राष्ट्रियसभा बैठकले गरेका निर्णयहरु पूर्णरुपमा कार्यान्वयनमा आउन सक्ने संवैधानिक सहजता छैन ।

तै पनि सरकारका मन्त्रीहरुसँग भएका प्रश्नोत्तर र केही जनसरोकारका पक्षमा सांसदले उठएका विषय भने प्रभावकारी रहेको राष्ट्रियसभा सदस्यहरुको दाबी छ । शुक्रबार राति नै संसदको चालु अधिवेशन अन्त्य भएपछि अब निर्वाचनपछि आउने प्रतिनिधिसभा सँगै राष्ट्रियसभाका आगामी बैठक बस्नेछन् । अबका अधिवेशनहरुले भने राष्ट्रियसभाले गरेका कामलाई पूर्णता दिनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय