काठमाडौं । जनयुद्धको उद्गमस्थलका रूपमा परिचित रुकुमपूर्वमा ३०औं जनयुद्ध दिवस विविध कार्यक्रमसहित मनाइँदै छ । कार्यक्रममा सहिद परिवार, बेपत्ता पारिएका व्यक्तिका आफन्त, घाइते तथा अपाङ्ग नागरिकसँग सामूहिक स्मरण र सम्मानको कार्यक्रम तय गरिएको छ ।

दश वर्ष लामो जनयुद्ध २०५२ साल फागुन १ गते सुरु भएको थियो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले राजतन्त्रको अन्त्य र नयाँ राजनीतिक संरचना स्थापना गर्ने उद्देश्यका साथ सशस्त्र आन्दोलनको उद्घोष गरेको थियो । त्यही ऐतिहासिक निर्णयको पहिलो प्रतिध्वनि सुनिएको भू–भागमध्ये रुकुम (पूर्व र पश्चिम) अग्रपंक्तिमा रह्यो ।

आज सङ्घीय संरचनापछि बनेको कान्छो जिल्ला रुकुमपूर्वले आफ्नै राजनीतिक पहिचान र ऐतिहासिक स्मृतिलाई समेट्दै दिवस मनाइरहेको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रतिनिधि सभा सदस्यका उम्मेदवारका रूपमा यही क्षेत्रबाट मैदानमा हुनुहुन्छ ।

आधार इलाकादेखि निर्णायक मोडसम्म

जनयुद्धको प्रारम्भिक चरणमा रुकुम र रोल्पा आधार इलाका बने । २०५२ फागुन १ मा रुकुमको आठबीसकोट, रोल्पाको होलरी, सिन्धुलीको सिन्धुलीगढी र गोरखाको च्याङ्लीस्थित कृषि विकास बैंकमा गरिएका आक्रमणहरूले सशस्त्र आन्दोलनको औपचारिक सुरुआतको संकेत दिएका थिए ।

त्यसपछिका वर्षहरूमा रुकुमका विभिन्न प्रहरी चौकीहरूमा भएका आक्रमण, एम्बुस र हतियार कब्जाका घटनाहरूले आन्दोलनलाई तीव्र बनायो । २०५७ साल चैतमा रुकुमकोट प्रहरी चौकी आक्रमणमा ठूलो जनधनको क्षति भयो—जसले द्वन्द्वलाई थप उग्र र जटिल बनायो ।

२०६१ साल माघमा लावाङमा बसेको माओवादी पोलिटब्यूरो बैठकले आन्तरिक वैचारिक मतभेदलाई औपचारिक रूप दिएको थियो । त्यसको एक वर्षपछि, २०६२ असोजमा रुकुमकै चुनवाङमा सम्पन्न केन्द्रीय समितिको ऐतिहासिक बैठकले लोकतान्त्रिक गणतन्त्रलाई कार्यदिशाका रूपमा पारित गर्यो । यही निर्णय शान्तिपूर्ण राजनीतिक यात्रातर्फ मोडिने निर्णायक मोड बन्यो । चुनवाङको निष्कर्षपछि सात राजनीतिक दल र माओवादीबीच १२ बुँदे समझदारी भयो । जनआन्दोलन–२ सँगको समन्वयले राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी प्रणालीको मार्ग प्रशस्त गर्यो ।

सहिद स्मरण र वर्तमान सन्देश

रुकुमपूर्वमा मात्रै २५२ जना सहिद रहेको तथ्यांक छ । दिवसका अवसरमा सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको छ । द्वन्द्वको पीडा र परिवर्तनको आकांक्षालाई एउटै थालमा राखेर स्मरण गर्ने प्रयास स्वरूप कार्यक्रमलाई अर्थपूर्ण बनाउने तयारी गरिएको आयोजकहरूले बताएका छन् । दिवस मनाउनुअघि संयोजक दाहालले द्वन्द्वकालीन घटनास्थल महतगाउँ र लावाङको भ्रमण गरी स्थानीयसँग भेटघाट गर्नुहुने छ । साथै चुनवाङ पुगेर ऐतिहासिक बैठकस्थलको अवलोकन पनि गर्नुहुने छ ।

इतिहासको विरासत र भविष्यको बहस

रुकुमपूर्व केवल द्वन्द्वको भूगोल होइन, राजनीतिक संक्रमणको प्रयोगशाला पनि हो । यहाँबाट सुरु भएको सशस्त्र आन्दोलन अन्ततः शान्ति प्रक्रियामा रूपान्तरित भई नयाँ संविधान, नयाँ संरचना र नयाँ राजनीतिक युगको जग बसाल्न पुग्यो ।

तर, परिवर्तनका उपलब्धि, अपूर्ण एजेण्डा र संक्रमणकालीन न्यायको प्रश्न अझै बहसकै केन्द्रमा छन् । त्यसैले जनयुद्ध दिवस केवल उत्सव नभई आत्मसमीक्षा र भविष्यतर्फको दायित्व सम्झने अवसर पनि हो । ३० वर्षअघिको बन्दुकको गर्जन आज स्मृतिको स्वरमा रूपान्तरित भएको छ । रुकुमपूर्वले फेरि एकपटक इतिहासको पदचाप सुन्दै—क्रान्ति र शान्तिको संगमस्थलका रूपमा आफ्नो पहिचान दोहोर्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय