भगवान श्रीकृष्णको व्यक्तित्व रहस्यमयी छ । विष्णुको २४ अवतार मध्येको एक कृष्ण अवतार हो । तर, अधिकांशबाट भगवान विष्णुको १० अवतारको रुपमा लिँदै आएका छन् । दश अवतार मध्येको आठौं अवतारमा भगवान श्रीकृष्ण पदार्पण भएका छन् । महाभारतको लडाईं साम्य पार्न र कंशको नाश गर्न भगवान विष्णुले श्रीकृष्ण अवतार लिएका हुन् । भगवान श्रीकृष्णको जन्म ईशापूर्व ३११२ मा भएको विश्वास गरिन्छ । मथुरामा उनको जन्म कसरी भयो हामी सबैलाई राम्ररी थाहा छ । पिता बसुदेव र आमा देवकीको कोखबाट जन्मे तापनि उनको लालनपोषण नन्दकी पत्नी यशोदाले गरेकी थिइन् । यशोदा श्रीकृष्णकी न सौतेनी आमा थिइन् न त जन्म दिने आमा । तापनि श्रीकृष्णको सम्पूर्ण लालनपालन गरिदिनाले उनकी आमा बनिन् ।

उनको बाल्यकाल गोकुल, बृन्दावन, नन्दगाउँ, बरसाना र द्वारकालगायत ठाउँहरुमा बितेका थिए । भनिन्छ, श्रीकृष्ण साढे तीन कोटी सखा सखीहरुकासाथ प्रेमको लीलामा ओतप्रोत भएर बस्छन् । उनको लीला अपरम्पार छ । त्यसैले भनिन्छ कणकणमा छ भगवान । एकैसाथ जहाँ पनि बास गर्न सक्ने । जसले १६ हजार एक सय आठ पटरानी बनाएका थिए । उनले कसैलाई बिझाउने कुरा गरेका छैनन् । आफूमाथि लागेको श्राप पनि हाँसी हाँसी ग्रहण गर्न सक्ने अद्भूत शक्ति छ । गान्धारीको श्राप मुताविक नै महाभारत युद्धपछिको ३६ वर्षमा उनको मृत्युभएको भनिन्छ कि त्यसबेला उनी १२५ वर्षका थिए ।

उनको मृत्यु अर्थात् देहत्याग गान्धारीको श्रापअनुसार भएको थियो । महाभारतको युद्धमा दुर्योधनको अन्त्य भयो । जसबाट उनकी आमा गान्धारी धेरै दुःखी भइन् । शोक व्यक्त गर्न युद्धभूमिमा छोरा मृत शरीर सामु पुग्दा त्यहाँ श्रीकृष्ण र पाण्डवहरु पनि थिए । गान्धारी आफ्ना छोराहरुको मृत्युको कारण यति दुःखी थिइन् कि उनले भगवान श्रीकृष्णलाई ३६ वर्षपछि मर्नुपर्ने श्राप दिइन् । यो सुनेर पाण्डवहरु चकित परेका थिए । तर श्रीकृष्ण अलिकति पनि विचलित नभई मुस्कुराउँदै उनले त्यो श्रापलाई स्वीकार गरे । श्राप अनुसार नै त्यसको ठीक ३६ वर्षपछि एउटा शिकारीको हातबाट मृत्यु भयो ।

भागवत् पुराणका अनुसार एकपटक श्रीकृष्णका छोरा साम्बाले एक महिलाको भेषमा आफ्ना साथीहरुसँग ऋषिलाई भेट्न गए । महिलाको भेषमा साम्बाले आफू गर्भवती भएको बताएका थिए । ती यदुवंशी कुमारहरुले यसरी ऋषिमुनिलाई ठग्ने कोशिस गरेकाले क्रोधित भएर नारी भेषधारी साम्बालाई “तिमीले एउटा यस्तो फलामको वाणलाई जन्म दिनेछौ, जसले तिम्रा वंश र राज्यलाई नष्ट पार्नेछ ।” भनेर श्राप दिएछन् । ती ऋषिको श्रापले डराएका उनी तुरुन्तै उग्रसेनलाई भेटेर सबै बताए । उग्रसेनले साम्बालाई उक्त श्राप हटाउनलाई प्रभास नदीमा त्यो तीरको पाउडर बनाएर बगाइ दिनु भनेछन् । साम्बाले उग्रसेनले भने जस्तै गरिदिए । यसको साथसाथै उग्रसेनले यादव राज्यमा कुनै पनि किसिमको नशाको उत्पादन र वितरण नगर्ने आदेश समेत जारी गरे ।

 

यो घटनापछि द्वारकामा अनेक किसिमका अशुभ सङ्केतहरु देखा परे । सामानहरु हराउने, अपराध र पापहरु पनि बढ्न थाले । हेर्दाहेर्दै द्वारकामा अशान्त वातावरण व्याप्त हुँर्दै गए । यो देखेर श्रीकृष्ण साह्रै दुःखीत भए । उनले आफ्ना मानिसहरुलाई पापहरुबाट छुटकारा पाउन यो ठाउँ छाडेर प्रभास नदीको किनारमा जान आज्ञा दिए । तर त्यहाँ पुगेपछि सबैजना मात्तिए । एक अर्कासँग बहस गर्दै झगडा गर्न थाले । झगडाले लडाईको रुप लिँदै गयो । यसरी एकआपसमा लड्दा लड्दै सबै मारिए ।

सोही पुराण अनुसार एकदिन श्रीकृष्ण पिपलको रुखमुनि विश्राम गरिरहेका बेला जारा नाम गरेका एक शिकारीले श्रीकृष्णलाई हरिणको आकृतिमा देखेकाले टाढैबाट वाण हानेका थिए । उक्त वाण लागेर श्रीकृष्णको मृत्यु भयो । क्रोधित ऋषिले साम्बालाई श्राप दिए अनुसार नै श्रीकृष्णलाई लागेको तीरमा त्यही फलामको अंश रहेछ । उग्रसेनको सुझाव अनुरुप तीरलाई पाउडर बनाएर नदीमा बगाएका थिए । ती शिकारीले माछाको पेटबाट उक्त फलाम निकालेर तीर बनाएका थिए । यसरी यदुवंशीहरुको नाश ऋषिको श्रापबाट भए भने गान्धारीको श्राप अनुसार महाभारतको युद्धपछिको ३६ वर्षमा श्रीकृष्णको मृत्यु भए ।

श्रीकृष्णले गीताको रुपमा संसारलाई नै धर्म, दर्शन र अध्यात्मका अमृतरुपी ज्ञान दिएका छन् । आजसम्म पनि गीतालाई ज्ञानको भण्डारको रुपमा लिने गरेका छन् । भगवान श्रीकृष्णले मानवजातिलाई सिकाएको सबैभन्दा ठूलो कुरा प्रेम हो । तिमीले प्रेम गर । प्रेम जहाँ छ, त्यहाँ समाज छ । अहिलेको युवालाई प्रेमको खाँचो छ । अहिलेको युवतीलाई प्रेमको खाँचोले छ । जुन मानिसको भित्र यो प्रेमले प्रवेश ग¥यो, सारा संसार उसैको हुन्छ । समाजमा सकारात्मक सोच आउँछ भने प्रेमले आउँछ नत्र भने आउँदैन भनेर शिक्षा दिएका छन् ।

हिन्दु धर्मभित्र भगवान श्रीकृष्णलाई मान्ने बिभिन्न सम्प्रदायहरु छन् । उनीहरु सबैले आ–आफ्नै ढङ्गले श्रीकृष्णलाई बुझ्ने र बुझाउने गरेका छन् । यी मध्येको एउटा सम्प्रदाय हो श्रीकृष्ण प्रणामी । उनीहरुले भगवान श्रीकृष्ण जन्मेको होइन, प्रकट भएको मानिन्छ । कृष्ण प्रणामी धर्ममा मूर्तिपूजा हुँदैन, ग्रन्थ पूजा गर्छन् । परमात्माको वाङ्मय स्वरुपको चैतन्य मूर्ति भनेर ग्रन्थलाई मानेर पूजा गर्दछन् । काठ र धातुका मूर्तिले बोल्दैनन् । तर किताब अर्थात ग्रन्थबाट उपदेश पाइन्छ भन्ने गर्दछन् । कृष्ण प्रणामी धर्ममा मद्यपान, मांशाहारी र सूर्तिजन्य पदार्थ वर्जित छ । उक्त धर्ममा छुवाछुत मान्ने गरेको छैन । तापनि कृष्ण जन्माष्टमी हिन्दु धर्मका अनुयायीहरुले आ–आफ्नै तौरतरिकाले मान्ने गरेको पाइन्छ ।

थानकोटमा श्रीकृष्णजात्रा

यो छोटो आलेखमा भगवान श्रीकृष्णको बारेमा धेरै उल्लेख गर्न सकिएन । भगवान श्रीकृष्णको बारेमा हामीले चाहेर पनि सबैकुरा जान्न बुझ्न कठिन छ । यसमा थानकोटमा कृष्ण जन्माष्टमी कसरी मनाइन्छ भन्ने बारेमा छोटो आलेख तयार गरेर जानकारी उद्देश्य लिएको छ । थानकोटमा कृष्ण जन्माष्टमी मनाउने तरिका अन्यत्र ठाउँको भन्दा केही फरकपन देखिन्छ । ठाउँ, परिवेश र प्रचलन अनुसार फरक देखिनु स्वभाविकै पनि हो ।

थानकोटमा जन्माष्टमीको पहिलो दिन बेलुका थानकोटकै मध्यभाग (केन्द्र विन्दु) झ्यालम्पाटीमा कृष्णको मूर्ति विराजमान गराउन गाःछेँस्थित स्व. प्रेमप्रकाश श्रेष्ठको घरबाट खट ल्याउँछन् । उक्त खटमा आदिनारायणको सिंहासनमा राखिएका भगवान कृष्णगोपालको धातुको मूर्ति आदिनारायण मन्दिरका पूजारी (राजोपाध्याय) बाट पूजाआजा गरि ल्याउँछन् । त्यसबेला थानकोटस्थित सरकारी बाजागाजा (धिमे, नाय्खिं बाजा र म्वाय्ली) धुमधामकासाथ बजाउँदै मूर्ति खटमा विराजमान गराइन्छ । सोही बेला राधाकृष्णको धातु मूर्ति सिकःछेँस्थित हरि श्रेष्ठको घरबाट ल्याएर सोही खटमासंगै विराजमान गराइन्छ । त्यसपछि नासः फल्चामा राखिएका खटमा लण्ठ टोलस्थित प्रद्यूम्न श्रेष्ठको घरमा राखिएका कृष्णको धातुमूर्ति विराजमान गराइन्छ ।

साथसाथै ताहाफः फल्चामा मञ्जयप्रकाश श्रेष्ठको घरमा राखिएका कृष्णको मूर्ति, तखाछेँस्थित फल्चामा गोविन्द श्रेष्ठको घरमा राखिएका कृष्णको मूर्ति, लाय्बस्थित फल्चामा सहदेव श्रेष्ठको घरमा राखिएका कृष्णको मूर्ति, इमाखेलस्थित फल्चामा नन्ददाश अमात्यको घरमा राखिएका कृष्णको मूर्ति, गोदाम र चुनिखेलस्थित फल्चामा समेत कृष्णको मूर्तिहरु सोही स्थानमा राखिएका खटमा विराजमान गराइन्छ । सोही दिन बेलुका श्रद्धालु भक्तजनहरु बाजागाजाकासाथ भगवान श्रीकृष्णप्रति आराधना स्वरुप दीप प्रज्वलित गर्न जान्छन् । सोही दिन रातभर श्रीकृष्णको पूजाआजाकासाथ भजनकीर्तन गर्ने प्रचलन रहेको छ ।

त्यसको भोलिपल्ट बिहान आस्थाकासाथ कृष्णको पूजाआजा गर्न जान्छन् । साथै सोही दिन लागभग १०-११ बजेको समयदेखि श्रद्धालु भक्तजन महिला पुरुष बाजागाजाकासाथ कृष्णपूजा (जहाँ कृष्ण स्थापना गरिएको छ) गर्न जाने प्रचलन रहेको छ । उक्त अवसरमा आ–आफ्नो श्रद्धाले जे सकिन्छ भगवान श्रीकृष्णलाई चढाउने गर्दछन् । यो प्रचलन लगभग २०३१-२०३२ सालतिर थालनी भएको हो । हालसम्म पनि यसलाई निरन्तरता दिँदै आएका छन् ।

सोही दिन बेलुकातिर सबैतिरका कृष्णका खट जात्राका लागि तयार गरेर लस्करै गाउँ परिक्रमा गराउँछन् । सबभन्दा पहिला झ्यालम्पाटीस्थित खट तयार गरेर बाजागाजाकासाथ उठाउँछन् । उक्त खट जात्रा गर्दै निर्धारित देवमार्ग (झ्यालम्पाटी–चोछेँ–सिकःछँ हुँदै याकःछेँ) परिक्रमा गराउँछन् । अनि याकःछेँमा भेटेर क्रमैसंग नासः फल्चा, ताहाफः, लाय्ब, तखाछेँ, इमाख्यः, गोदाम र चुनिखेलको खटहरु लस्करै जात्रा गर्दै गाउँ परिक्रमा गराउँछन् । बाजागाजाकासाथ मनग्य जात्रा गरेपछि आ–आफ्नै टोलहरुमा लिएर जान्छन् । झ्यालम्पाटीस्थित भगवान श्रीकृष्णको खट विसाउनको लागि पनि अनिवार्य रुपमा सरकारी बाजागाजा बजाउनु पर्ने प्रचलन रहेको छ । खट विसाएपछि पूजाआजा गरेर पुनः राधा र कृष्णगोपाललाई आ–आफ्नै स्थानमा पुनःस्थापना गराउँछन् । यसपछि थानकोटमा कृष्णजात्रा सम्पन्न भएको मानिन्छ ।

स्मरण रहोस् – यस कृष्णजात्रामा खट सानो हुने भएकाले अधिकाँश सानासाना केटाहरुले उमङ्गका खट बोकेर रमाइलोकासाथ बाजागाजाको तालमा ताल मिलाउँदै खट नचाउँदै जात्रा गर्दछन् । खासै भन्नुपर्दा यो जतिको रमाइलो सायद अरु जात्रा नहोला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय