वीरगञ्जको श्रीसियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा अन्तर्राष्ट्रिय सिपिङ कम्पनीले कन्टेनरको खोजी थालेका छन् । भन्सार यार्डबाटै सञ्चालनको ठेक्का पाएको कम्पनी प्रिस्टिनका कर्मचारीको सेटिङमा चोरीका घटना सार्वजनिक भएपछि कम्पनीहरुले प्रतिनिधिहरु मार्फत् कन्टेनर खोजी थालेका हुन ।
प्रिस्टिनले ठेक्का लिएको अवधिदेखि हालसम्म बाहिर गएका ८२ वटा कन्टनेर हराएको बताइएको छ । खोजी सुरु भएपछि चार दिनमा १९ वटा कन्टनेर सुख्खा बन्दरगाहमा फिर्ता भएका छन् । सुख्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी प्रिस्टिन भ्यालीकै कर्मचारीको संलग्नतामा अवैधरूपमा वीरगंज, सिमरा, भरतपुर, पोखराका व्यवसायीलाई बेचिएका कन्टेनर फिर्ता भएका हुन ।
श्री एयरलाइन्स, काठमाडौंलाई बेचिएका दुईवटा ४० फुटे कन्टेनर फिर्ता नभएको बताइएको छ । प्रिस्टिनका प्रमुख सञ्चालन अधिकृत अतुल शर्माले भने ८२ वटा कन्टनेर गायब भएको कुरा निराधार भएको दाबी गरेका छन् । वाणिज्य मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडेल यातायात विकास समितिका प्रमुख कमल ज्ञवालीले आफूलाई १० वटा कन्टेनर चोरी भएको जानकारी आएको बताए ।
सुख्खा बन्दरगाहका भन्सार प्रमुख डा. रामप्रसाद मैनालीले कन्टेनर चोरीको विषयमा प्रिस्टिनले अनुसन्धान गरिरहेको बताए । पछिल्लो समय दश वटा कन्टनेर मक्र्सलाइनको चोरी भएको घटना प्रकाशमा आएपछि अहिले सो कम्पनीसँगै जिम, वन, वहान, इभरग्रीन, समुद्रा, एमएसी, सिएमए बिएलपिएल, आरसिएल, ओओसिआरलगायत सिपिङलाइन कम्पनीले आ–आफ्नो कन्टेनरको हालको अवस्थाबारे चासो देखाएका छन । फर्जी गेटपास बनाएर ती कन्टेनरहरू बेचेको घटना सार्वजनिक भएपछि त्यसमा सग्लन कर्मचारी भने फरार छन ।