काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिक वृत्त स्तब्ध भएको छ । संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको गएराति अकस्मात निधन भएको हो । हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल पु-याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । नेम्वाङको निधनप्रति नेपालका सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् । नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको राष्ट्रपति पौडेलले बताएका छन् । उनले नेम्वाङप्रति श्रद्धान्जली र परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् । उनले भनेका छन्, ‘दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

सभामुख देवराज घिमिरेले नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । ‘उहाँको निधनले नेपालको संसदले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको छ’ नेम्वाङले भनेका छन्, ‘प्रतिनिधि सभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु ।’

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेम्वाङले संविधान सभामा खेलेको भूमिकालाई मुलुकले सधैं स्मरण गरिरहने बताएका छन् । नेम्वाङको निधनप्रति श्रद्धाञ्जली प्रकट गर्दै उनले २०६२÷०६३ को जनआन्दोलनपछि पुनस्र्थापित संसदमा सभामुख र पहिलो तथा दोस्रो संविधानसभामा अध्यक्षको रुपमा नेम्वाङले खेलेको नेतृत्वदायी भूमिका अनुकरणीय रहेको बताए । उनी लेख्छन्, ‘उहाँको सुझ बुझपूर्ण ढंगले सबै पक्षसँग सहज संवादका माध्यमबाट सहमति कायम गराएर बिबाद निरुपण गर्ने शैली सबैका लागि अनुशरणयोग्य छ ।’ नेम्वाङको निधनसँगै नेपालको संसदले एक अनुभवी, असल र लोकप्रिय संसद गुमाएको उल्लेख गर्दै उनी अगाडि लेख्छन्, ‘राष्ट्रले एक सिद्धान्तनिष्ठ देशभक्त इमान्दार नेता गुमाएको छ ।’

पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन् ।‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छ,’ उनले लेखेका छन्, ‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेम्वाङको निधनबाट नेपाली राजनीतिमा ठूलो क्षति भएको बताएका छन् । नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेका उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले भने, ‘नेपालको लोकतान्त्रिक परिवर्तनलाई संविधानमा संस्थागत गर्ने भूमिकाका निम्ति नेपाली जनताले सदा अध्यक्ष सुवास नेम्वाङलाई स्मरण गरिरहने छ ।’ नेम्वाङको निधन नेपालको राजनीति र समाजका निम्ति अत्यन्त ठूलो क्षति भएको उनले बताए । नेकपा एमालेका सचेतक महेश बर्तौलाले नेम्वाङको निधनसँगै ‘मियो ढलेको’ बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘आज हाम्रो मियो ढल्यो । अभिभावक गुमायौं । कहिल्यै बिर्सने छैनौं । आदरणीय नेता सुवास नेम्वाङ ज्यु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय