उत्तर कोरियाली नेता किम जोङ उन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रुस पुगेका छन् । नेता किम जोङ उन आफ्नो सशस्त्र रेलमार्फत रसिया पुगेका हुन । रेलमा रुस जानुअघि प्योङयाङका जनतालाई अभिवादन गरिरहेको तस्वीर प्योङयाङले सार्वजनिक गरेको छ ।
सरकारी सञ्चारमाध्यम केसीएनएले नेता किमको साथमा सैनिक कर्मचारीसहित उच्च सरकारी अधिकारीहरूको समूह पनि रहेको जनाएको छ । दुई नेताबीच आज भेटवार्ता हुने बताइएको छ । बैठकमा युक्रेनमा जारी युद्धका लागि उत्तर कोरियाले रुसलाई हतियार उपलब्ध गराउने सम्भावनाबारे छलफल हुने बताइएको छ ।
उत्तर कोरियाली नेताको पछिल्लो चार वर्षमा यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो । कोरोना महामारीपछि किम जोङ पहिलो पटक विदेशमा निस्केका हुन । किम जोङले यसअघि सन् २०१९ मा रुसको भ्लादिभोस्टोक शहरमा पुटिनलाई भेटेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उत्तर कोरियाको आणविक निःशस्त्रीकरण वार्ता रद्द भएपछि यो बैठक भएको थियो ।