प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले खेलाडीलाई दिने भनेर घोषणा गरेको पुरस्कार शुक्रवारको मन्त्रीपरिषद् बैठकबाट निकासा हुने बताएका छन् । बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १९ औं एशियाली खेलकुदमा भाग लिन चीन जाने नेपाली खेलाडीहरुलाई बिदाइ गर्दै प्रधानमन्त्री दाहालले सरकारले घोषणा गरेको पुरस्कार केही प्राविधिक र नीतिगत कारणले दिन ढिलाई भएको भन्दै शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट निकासा हुने बताएका हुन् ।
उनले सरकारले र प्रधानमन्त्रीले घोषणा गरिसकेको पुरस्कार पाइँदैन की भन्ने चिन्ता नलिन खेलाडीहरुलाई आग्रह समेत गरे ।प्रधानमन्त्री दाहालले देशमा आधुनिक सुविधा सम्पन्न रंगशाला र कभर्ड हल बनाउन तथा विभिन्न खेलका निम्ति आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि चीन भ्रमणका क्रममा पहल गर्ने प्रतिवद्धता पनि जनाए । उनले सरकार खेल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरुको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरु निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिवद्ध रहेको पनि बताए ।प्रधानमन्त्री पुष्पकमल दाहालले एसियाड गेमका लागि नेपाली खेलाडीलाई चीनमा राम्रो व्यवस्थापन भइसकेकाले चिन्ता नलिन पनि आग्रह पनि गरे ।