नेपालको पहिलो सुरुङमार्ग नेपाली श्रम, सीप र प्रबिधिबाट निर्मित ‘चुरिया टनेल’ अनि नेपालका पहिलो इञ्जिनियर डिल्लीजंग थापा ।
आज भन्दा १ सय ७ वर्ष अगाडि नै नेपालमा सुरुङमार्ग बने पनि हालसम्म गाडी गुड्नको लागि सुरुङमार्ग निर्माण हुन सकेको छैन । अहिले काठमाडौंको दहचोकबाट धादिङको सिक्रे खोलासम्म करिब २५ सय मिटरको सुरुङमार्ग निर्माणाधीन अबस्थामा छ ।
वि.स.१९७४ सालमा अम्लेखगञ्ज–भीमफेदी सडकमार्ग निर्माण गरियो । सो सडक निर्माणसँगै चुरियाको डाँडोमा सडक बनाएर गाडी चलाउन अफ्ठ्यारो भएको हुँदा चुरिया पहाडमा सुरुङ बनाउनुपर्ने आवश्यकता पर्यो । सो कुरा तत्कालीन श्री ३ महाराज चन्द्र शम्सेरलाई जाहेर गरियो । उनले सुरुङ बनाउन आदेश दिए । यसको लागि नेपालकै पहिलो इञ्जिनियर कर्णेल डिल्लीजंग थापालाई जिम्मेवारी दिइयो । उनी सो सुरुङ मार्ग बनाउन तयार भए । जब उनी सुरुङ मार्ग बनाउने योजनामा लागे उनलाई एक रात सपनामा देवीले मेरो मन्दिर बनाएर मात्र सुरुङ बनाउ भनेर भनिन् भन्ने भनाइ छ । त्यसपछि उनले सुरुङ बन्ने छेउमै चुरियामाई देवीको मन्दिर स्थापना गरि पूजाआजा गरेर निर्माण कार्य सुरु गरे । त्यस सुरुङको सम्पूर्ण डिजाईन इञ्जिनियर कर्णेल डिल्लीजंग थापाले नै गरेका थिए । १६०० फिट लम्बाई १२ फिट उचाई ९ फिट चौडाईको सो सुरुङ मार्गमा ९ फिट चौडा बाटोमा गाडी आउँदा पैदल यात्रुलाई सुरक्षित गर्नका लागि केही मिटरको फरकमा मानिसलाई छेकिने व्यवस्था गरिएको थियो । सो सुरुङ मार्गलाई बलियो बनाउनको लागि चुनासुर्खी प्रयोग गरि मजबुत बनाइएको थियो ।
सुरुङ्ग मार्ग निर्माण गर्न केही आवश्यक सामग्रीहरु बेलायतबाट मगाए पनि अरु सम्पूर्ण प्रविधि, श्रम, शीप र निर्माण सामग्रीहरु नेपाली नै प्रयोग भएको थियो । त्यस सुरुङ निर्माण पश्चात् त्यहाँबाट घोडसवारी, हात्ती सवारी, गाडी, पैदल यात्रीहरुलाई यात्रा गर्न सजिलो भएको थियो । सुरुङमार्ग त्यसबखत पनि समयमै र गुणस्तरयुक्त रूपमा निर्माण सम्पन्न भएको थियो । यसबाट नै थाहा हुन्छ की त्यस समयमा हाम्रो निर्माण नीति कति चुस्त र दुरुस्त थियो भनेर । चुरिया सुरुङ मार्ग सुचारु भएपछि नेपाली जनजिब्रोमा हाम्रा राजा छन् अक्कलदारी, सडक खने चुरिया भ्वाङ पारी भन्ने लोकलयमा आधारित गीत चर्चित थियो । २०११ सालमा त्रिभुवन राजपथको निर्माण भएपछि यो सुरुङ मार्ग धेरै वर्षसम्म बेबारिसे अबस्थामा रह्यो । हाल यस सुरुङमार्गलाइ मर्मत गरी पर्यटन प्रबद्र्धनको लागि मान्छे हिड्नको लागि प्रयोगमा ल्याइदै छ । त्यसबखत यो नेपाली श्रम र सीपबाट नै निर्माण गरिएको यो ऐतिहासिक सुरुङमार्ग नेपालको एउटा गौरब पनि हो । तर विडम्बना ! हामीले यत्रो समयसम्म पनि अर्को सुरुङ मार्ग तयार गर्न सकेनौं । नेपाल जस्तो पहाडी भू–भाग जहाँ यस्ता सयौं सुरुङ मार्गहरु तयार हुनु पथ्र्यो । तर, हाम्रो विकास नीति नहुँदा हामी भौतिक पूर्वाधारमा निक्कै पछि पर्यौ ।
यस चुरिया सुरुङमार्गका डिजाइनर इन्जिनियर कर्णेल डिल्लीजंग थापाले आफ्नो कार्यकालमा नेपालमा निर्मित अरु धेरै भौतिक पूर्वाधारहरुको डिजाइन गरेका थिए । उदयपुरको चन्द्र नहर, टोखाको टिबी अस्पताल, अम्लेखगञ्ज भीमफेदी सडक, हाल राष्ट्रपति भवन रहेको शीतल निवासलगायत अन्य धेरै पूर्वाधारहरु निर्माण हुनुमा उनको ठुलो योगदान छ । नेपालका पहिलो इञ्जिनियर डिल्लीजंग थापाको निधन ५३ वर्षको उमेरमा बि.स.२००३ मा भएको थियो ।
लेखक नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य हुनुहुन्छ ।