हरितालिका तीज नेपालको एक विशेष पर्व हो । भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजाआराधना गरी ब्रत बस्नुका साथै नाचगान गरेर धुमधामसँग तीज मनाउँछन् । गणेश चतुर्थी र ऋषिपञ्चमी पनि तीजकै अंगको रूपमा लिइन्छ । हामीले मनाउने कुनै पनि सांस्कृतिक पर्व हाम्रा वैदिक तथा पौराणिक प्रसंगसँग सम्बन्धित भएर परम्परासँग जोडिएको छ । हरितालिका तीज शिवपुराणको हिमालयपुत्री पार्वतीको प्रसंगसँग सम्बन्धित छ ।
तीज ‘नारीले समृद्धिका निम्ति धार्मिक परम्पराअनुसार शिव पार्वतीको उपासना र पूजा गर्ने दिन’ पनि हो । पार्वतीको विवाह विष्णुसँग हुन लागेकोमा उनीसँग विवाह गर्न नपरोस् र महादेवसँग विवाह होस् भन्ने पार्वतीको चाहनालाई सघाउन उनका साथीहरुले पार्वतीलाई हरण गरेर जंगलमा लुकाएको हुनाले यसलाई हरितालिका भनिएको हो । पार्वतीले जंगलमा खाएको कुरा कालान्तरमा दर भनी खाने गरिएको भनाइ छ । तृतीया तिथिमा पार्वती र शिवको विवाह भई शिवले ताण्डव नृत्य गरेकाले यसदिनको सम्झनामा नेपाली चेलीले तीजको नाचगान गर्न थालेका हुन् भन्ने किम्वदन्ती छ ।

तीजलाई नारी विशेषको पर्वका रूपमा हेरिएको छ । तीजकै अवसरमा गाइने गीतलाई तीजे गीत पनि भन्ने गरिएको छ । वर्ष दिनसम्म मेलापाता, घाँस–दाउरा गर्दै दिन गुजार गरिरहेकी नारीले आफ्ना कथा, व्यथा र सामाजिक विकृति एवं विसंगतिलाई यही तीजको अवसर पारेर गीतका रूपमा व्यक्त गर्ने गर्दछन् । परापूर्वकालदेखि चल्दै आएको तीज पर्व आरम्भमा भाद्र शुक्ल द्वित्तीयादेखि पञ्चमीसम्म चार दिन मनाइने प्रचलन थियो । अहिले भने यसरी चार दिनमा तीजलाई खुम्चाउन नसकिने अवस्था छ । सुरुमा यो पर्व नेपालमा प्रायः क्षेत्री बाहुनले बढी मनाउने र आदिवासी, जनजातिले त्यति महत्व दिँदैनथे । तर, अहिले सबैको साझा पर्वका रूपमा लिने गरिएको छ ।

तीज नेपाली महिलाका निम्ति ब्रत, उपवास र शिवजीको उपासनाको पर्व पनि हो । शिव पुराणमा शिवजीको महिमा वर्णन गरिएको छ । हिमालय पर्वतकी पुत्री पार्वतीले श्री महादेव स्वामी पाऊँ भनी कठोर तपस्या गरी महादेवसँग उनको विवाह भएको कुरा शिव पुराणमा उल्लेख गरिएको छ । पार्वतीले व्रत बसेर उनको मनोकामना पूर्ण भएकाले अरू महिला पनि आआफ्ना मनोकामनासहित अविवाहित नारीले असल पति पाऊँ भनी ब्रत बस्ने गर्दछन् । आज भोलिको तीजमा मौलिकतामा कमी आएको छ । कृत्रिम, अस्वाभाविक र अप्राकृतिक ढंगले तीज मनाउन थालिएको छ । हिजोका दिनमा जसरी तीजको सुरुवात भयो, आज यसले विगतको विरासत धान्न सकेको छैन । हुनेले मीठो मसिनो नहुनेले पीठो मसिनो खाने पर्व थियो तीज । नौ डाँडापारि विवाह गरी पठाएका चेलीबेटीलाई बाबाआमा, दाजुभाइ लिन गएर घरमा जम्मा गरी मीठो मसिनो खाने खुवाउने दिन थियो तीज । असल भाइचाराको गाँठो कसिलो बनाउने पर्व थियो तीज । चेलीलाई माइती लिन जानुपर्ने, घर पक्षले अरू बेला नभए पनि यो बेला माइत पठाउनैपर्ने पर्व थियो तीज ।

आज यो अवस्था रहेन । भाद्र शुक्ला द्वित्तीयादेखि सुरु हुने तीज जनैपूर्णिमा सुरु नहुँदै सुरु हुन्छ । सांगीतिक तयारी हुनु स्वाभाविकै होला तर कम्तीमा पनि तीजे गीत गाउनलाई कृष्णाष्टमी कुर्नुपथ्र्यो अनि मात्र यसको महत्व हुन्थ्यो । सहर बजारमा साउनको आरम्भसँगै भड्किला पहिरनसहित दिनहुँजसो पार्टी प्यालेसमा हुने भोज भतेर, नक्कली नै सही, प्रतिस्पर्धामा महिलाले पहिरने गरगहना, अनावश्यक र अस्वाभाविक शृंगारपटारजस्ता कुराले भड्किलो बन्दै गएको पाइन्छ । हुने खानेलाई त यसले राम्रै गर्ला अथवा नराम्रो गरे यसको फल उनैले भोग्लान्, जसले तीजै नआई तीज मनाउँछन् । तर, हुँदा खाने नेपाली समाजका अन्य महिलालाई भने यो अनावश्यक तडकभडक र देखासिकीले नकारात्मक असर पार्ने भयो । धार्मिक तथा सांस्कृतिक महत्व रहेको तीज पर्वले पुरुषप्रधान देश नेपालमा घरभित्र मात्रै खुम्चिएर बस्ने महिलाहरूलाई बाहिर निस्कन प्रेरित गर्ने र आफ्ना पीरमर्का अरुसमक्ष राख्ने मौका दिने भएकाले यसको सामाजिक महत्व पनि त्यत्तिकै छ ।

चाडपर्व हाम्रा अमूल्य धरोहर हुन्, यिनको अस्तित्व निमिट्यान्न पार्नुहुँदैन भन्ने कुरालाई सबैले मनन गर्न जरुरी छ । संस्कृतिको जगेर्नाबाट नै हामी हाम्रो मौलिकता बचाउन सकिन्छ । खानपान र लवाइखवाइमा सादगीपन अपनाई मौलिकता नमर्ने गरी तीज पर्व मनाउन जरुरी छ । कथित् आधुनिकताका नाममा तीज मनाउँदा तीजको पहिचान नै गुम्ने स्थिति कदापि आउनुहुँदैन । यस्ता विकृतिले हाम्रा संस्कार र संस्कृतिका मूल्यमान्यतालाई घटाउँदै गएको र समाजलाई दूषित बनाउँदै गएको हुनाले यस्ता विकृतिलाई हटाई हाम्रा रीतिरिवाज, पर्व, संस्कार र संस्कृतिलाई स्वच्छ तुल्याउनु जरुरी छ । धार्मिक, सामाजिक तथा वैज्ञानिक महत्त्व भएका यी पर्वहरूको रहस्य सबैले बुझेर सभ्य तथा समुचित ढङ्गले यिनको पालना गर्नु हामी सबैको कर्तव्य हो । चाडपर्व हाम्रा अमूल्य धरोहर हुन् । यिनको अस्तित्व निमिट्यान्न पार्नुहुँदैन भन्ने कुरालाई सबैले मनन गर्न जरुरी छ । संस्कृतिको जगेर्नाबाट नै हामी हाम्रो मौलिकता बचाउन सक्छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय