६१ किलो सुन तस्करी गरेको आरोपमा २९ जनामाथि मुद्दा दायर भएको छ । आइतबार सरकारी वकिलको कार्यालय काठमाडौँले २९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । प्रतिवादी बनाइएका २९ जनामध्ये २६ जना प्रहरीको नियन्त्रणमा र तीन जना फरार छन् ।
सरकारी वकिलको कार्यालयले प्रतिवादीहरुलाई अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐन अन्तर्गतको कसुरका साथै एक साथ यी अपराध गरेकाले एकीकृत कसुरतर्फ थप सजाय माग दाबी गरी मुद्दा दायर गरेको हो । सबै आरोपितमाथि सुन तस्करी गरेकोमा ३ अर्ब ५० करोड २ लाख रुपैयाँ, ब्रेक प्याडको भन्सारसमेत जोडेर थप २८ लाख ७५ हजार रुपैयाँ गरी कुल बिगो ३ अर्ब ५० करोड ३० लाख रुपैयाँ माग गरिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सुन प्रकरणमा ३२ जनालाई पक्राउ गरेको थियो । त्यसमध्ये ६ जनालाई मुद्दा नचलाउन सीआईबीले नै सिफारिस गरेको थियो । प्रहरीले आरोपितमाथि बरामद भएको बाहेक अरु सुन पनि तस्करी गरेको आरोप लगाएको छ । आरोप पत्रमा उनीहरुले ३६२ किलो ७७८ ग्राम सुन तस्करी गरेको उल्लेख छ ।