हत्याकाण्डमा नेपालका धेरै देशभक्त भारदारहरु मारिए । अधिकांश चौतारिया शाह थापा, पाण्डे, बस्नेत खलकहरुको हत्या गरियो बाँचेकाहरुलाई सर्बस्व हरणसहित देश निकाला गरियो । यस्तो बीभत्स हत्या देखेर राजा राजेन्द्र वीर बिक्रम सोही राती ब्रिटिस दूतावासमा शरण लिन पुगे ।
माथबर सिंह थापाको हत्या पछि रानी राज्यलक्ष्मी देवीको विश्वासपात्र तथा मन्त्रिपरिषद्का सदस्य गगनसिंहले रानीको आडमा गर्ने मनपरी तन्त्रका कारण श्री ५ राजेन्द्र उनलाई पन्छाई आफ्ना विश्वासपात्र फत्तेजंग चौतारियालाई प्रधानमन्त्री बनाउन चाहन्थे । उनको त्यो इच्छा पूरा भएर प्रधानमन्त्री फत्तेजंग शाह नियुक्त भएका थिए । रानीको दबदबा रहेको तत्कालीन परिवेशमा गगनसिंह पछि रानीको कोही आफ्नो बनेको थियो भने ति जंगबहादुर नै थिए । बि. सं. १९०३ भदौ ३१ गते सोमबारका दिन राति करिब १० बजे तत्कालीन मन्त्रिपरिषद्का सदस्य गगनसिह भण्डारीको रहस्यमय ढंगले गरिएको हत्याले रानी राज्यलक्ष्मी विक्षिप्त बन्न पुगिन् । यो खबर सुन्ने बित्तिकै महारानी राज्यलक्ष्मीदेवी क्रोध एवम् शोकले उद्गित हुँदै रिसले आगो भएर हातमा नाङ्गो तरबार बोकेर मैनबत्ती बोकेका आफ्ना केटी सुसारेलाई अघिपछि लगाउदै गगन सिंहको निवास तर्फ लागिन् । रानीले हत्याराबारे जंगबहादुरसँग परामर्श गर्दा यसमा ठूला–ठूला मानिसको हात रहेकोले सबै भारदारहरु निशस्त्र भेला भएको बखत इशाराले हत्यारा देखाइदिन सक्ने राय रानीलाई दिए ।
रानीको आज्ञाबाट बि. सं. १९०३ आश्विन २ गते शनिबारको मध्यरातमा धरहराबाट सामेलीको बिगुल बजाउन लगाई भारदाराहरुलाई कोतमा हाजिर गराईयो । आधारातमा भएको सामेलिमा सम्पूर्ण भारदारहरु निशस्त्र नै प्रस्तुत थिए । तर, धूर्त अनि चलाख जंगबहादुरले आफ्ना भाईहरु साथै आफ्नो कमाण्डमा रहेका पल्टनलाई हतियारसहित कोत घेर्न लगाए । तर, अरु भारदारहरु निशस्त्र र अंगरक्षक समेत बाहिर नै राखेर आएको हुँदा ती भारदारहरु निरीह देखिन्थे । जब कोतमा छलफल शुरु भयो सोही बेलामा एकले अर्कोलाई दोषारोपण गर्दै हात हालाहालको स्थिति बन्यो । कपदार वीरकेशर पाँडेलाइ पक्रिई बाँधेर केरकार गर्न भनि तत्कालै बाँसका खम्बा गाडिए र पिट्न कोरा पनि तयार पारियो । संगै जोडिएको अदालतबाट नेल तथा गलफन्दी मगाइए । बोलावट अनुसार सर्बप्रथम कालु शाही तथा शिहवीर पाँडे त्यहाँ आइपुगे । यी दुबै काजीहरुलाई बिना सोधपुछ तुरुन्त हिरासतमा राखियो । यता, महारानीबाट बोलावट हुन्छ की भनेर बसीरहेका मुख्य चौतारा फत्यजंग शाह, जनरल अभियान सिंह राना, काजी दलभन्जन पाँडे माथि अकस्मात गोली प्रहार भयो । फत्यजंग शाह तथा दलभन्जन पाँडे तत्काल ढलिहाले । अभियान सिंहको गोडामा गोली लाग्यो । अभियान सिंह धरमराउँदै आफ्ना भाई भतिजा तर्फ गुहार माग्दै कोतको पटाङ्गिनीमा पुगे । उनको यस्तो अवस्था देखेर उनका अरु भाइ जंगबहादुरका भाइहरुसँग जम्जामाउन थालेका थिए । सोही समयमा जंगबहादुरद्वारा नियुक्त पहरेदार जुद्दवीर अधिकारीले बन्दुकको संगीनले घोचेर अभिमान सिंहको जीवनलीला त्यही समाप्त पारिदिए । त्यसपछि प्रधानमन्त्री फत्यजंग शाह लगायतका सम्पूर्ण भाई भारदारहरुको कत्लेआम शुरु भयो । ११ बजेबाट शुरु भएको काटमार राती १ बजेसम्म चलिरह्यो ।
यस हत्याकाण्डमा तत्कालीन प्रधानमन्त्री फत्यजंग शाह, चौतारिया खडगबिक्रम शाह, चौतारिया वीरबहादुर शाह, चौतारिया दलबहादुर शाह, चौतारिया गोप्रसाद शाह, जनरल अभिमान सिंह रानामगर, काजी दलभन्जन पाण्डे, काजी रणगम्भीर पाण्डे, काजी रणजोर थापा, काजी, नरसिंह थापा, काजी बखत वीर भण्डारी, काजी वीर केशर पाण्डे, कपरदार कीर्तिध्वज पाण्डे, सरदार भवानी सिंह खत्री, सरदार समरबहादुर शाह, सरदार गणप्रकाश शाह, सरदार राम सिंह, सरदार शत्रु भन्जन शाही, सरदार युद्ध रञ्जन शाही, काजी अर्जुन थापा, कप्तान मोहन वीर शाही, कप्तान वीर बहादुर शाही, बद्रीवान शाही, कुम्बेदान गैंडा मल्ल, ददा दन्ड केशेर, द्वारे जोगराज, जमदार बिष्णु भक्त, हवल्दार कालू खवास, अर्दली इन्द्र वीर राउत मारिए । त्यसैगरी खडानन्द उपाध्याय, कुइँकेल ब्राह्मण, रंगनाथ खनाललाई जातच्युत गरि चारपाटा मुढेर लखेटियो । यो हत्याकाण्डमा नेपालका धेरै देशभक्त भारदारहरु मारिए । अधिकांश चौतारिया शाह थापा, पाण्डे, बस्नेत खलकहरुको हत्या गरियो बाँचेकाहरुलाई सर्बस्व हरणसहित देश निकाला गरियो । यस्तो बीभत्स हत्या देखेर राजा राजेन्द्र वीर बिक्रम सोही राती ब्रिटिस दूतावासमा शरण लिन पुगे । नसोचिएको हत्या काण्डबाट निक्कै डराएकी रानी राज्यलक्ष्मी देवीले सोही राती जंगबहादुर राणालाई नेपाल अधिराज्यको प्रधानमन्त्री तथा प्रधान सेनापतीमा नियुक्त गरिन् । रानी राज्यलक्ष्मीलाई राजा राजेन्द्र वीर बिक्रम शाहले बि.स. १९०२ जेष्ठ १५ गते राज्य सम्बन्धी सम्पूर्ण अधिकार दिएका थिए । उनले सोही अधिकारको प्रयोग गरेर राजकाजमा हस्तक्षेप गर्थिन् । उनै रानीको हठको कारण कोतपर्व जस्तो क्रुर हत्याकाण्ड हुन गयो ।
यो हत्याकाण्डमा ३१ जना भारदारहररुको हत्या भएको, २९ भागेको, ३ मुडिएको, ५ परिवार सहित र २१ एकल रुपमा देश निकाल गरिएको तथ्य देख्न सकिन्छ । यस हत्याकाण्डबाट देशमा जंगबहादुर शक्तिशाली शासक भए । साथै यो कोतपर्वको घटनाबाट १०४ वर्षे जहानिया राणा शासनको उदय भयो । जसले गर्दा नेपाली जनता रैती भएर बाँच्न बाध्य हुनुपर्यो । सोही कारणले गर्दा देशको विकाश र नेपाली जनताको चेतनास्तर निक्कै पछाडी पर्यो । त्यसपछि पनि सत्ताको लागि काटमार चलिरह्यो जुन आज पर्यन्त छँदैछ । त्यस बखत सत्ता हात पार्न आफ्नै दाजुभाइ, काका भतिजा कै काटमार हुन्थ्यो । आज पनि आफ्नै पार्टीमा वा फरक पार्टीसँग घात प्रतिघात चलि नै रहेको छ । फरक यति हो त्यसबखत शक्तिमा आउन आफ्ना प्रतिद्वन्द्वीको हत्या गर्नु पथ्र्यो वा देश निकाला गर्नु पथ्र्यो । अहिले पनि की पार्टीबाट निकालिइन्छ की पार्टीमा भएका बलियो प्रतिद्वन्द्वीलाई बेइज्जत गर्दै हुर्मत लिइन्छ । यस्तै र यिनै कारणले गर्दा देशको राजनीति अस्थिर भइरहेको छ भने यहि दुर्दशाले गर्दा नै देश तन्नम भइरहेको छ भन्नुमा अतिसय नहोला ।
(लेखक नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य हुनुहुन्छ)