काठमाडौं । देशभरका सामुदायिक विद्यालय आजदेखि बन्द हुने भएको छ । नेपाल शिक्षक महासंघको आह्वानमा गरिएको बन्दका कारण देशभरका ७० लाख भन्दा बढी विद्यार्थीको पठनपाठन अवरुद्ध हुने भएको हो ।
शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौं आएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको हो । महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएसँगै आन्दोलनभर पूर्णरुपमा विद्यालय बन्द रहने छ ।
शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका अस्वीकार गर्दै आन्दोलन घोषणा गरेका हुन् ।