काठमाडौं । एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चन्द्रागिरि नगरपालिकाको सह–आयोजनामा अन्तर नगरपालिका राष्ट्रिय क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताको संयोजकमा चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गी र प्राविधिक प्रमुखमा देवी बस्नेत रहनु भएको छ । प्रतियोगिता संचालन गर्न करिब २० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । नेपालको खेलकुद इतिहासमा पहिलो पटक यस प्रकारको प्रतियोगिता हुन लागेको आयोजकको दाबी छ । प्रतियोगितामा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकासहित २९३ वटा पालिकालाई निमन्त्रणा गरिएको छ भने ३ सय खेलाडीले सहभागिता जनाउने अनुमान गरिएको छ ।

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले नगरको गरिमा र गौरव बढाउने कार्यक्रममा आफुहरु जोडिन पाउँदा खुशी लागेको बताउनु भयो । मेयर गिरीले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताउँदै यो प्रतियोगिताले देशब्यापी रुपमा चन्द्रागिरि नगरपालिकाको प्रचार र प्रबद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगितामा सिनियर महिला तथा पुरुषको १० किलोमिटर र जुनियर तर्फ महिला तथा पुरुषको ५ किलोमिटर गरी ४ विधामा ब्यक्तिगत, टिम र समष्टिगत रुपमा खेलाडीलाई प्रतिस्पर्धा गराईने छ ।

शीर्ष तीन स्थान हात पार्ने सिनियर व्यक्तिगत तर्फका खेलाडीहरुले नगद २५ हजार, १५ हजार र १० हजारसहित पदक, ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै जुनियर ब्यक्तिगत तर्फ शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले नगद १५ हजार, १० हजार र ७ हजारका साथै पदक, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै सिनियर तर्फ टीम प्रथमले २४ हजार, द्वितीयले ८ हजार र १२ हजार तथा जुनियर तर्फ १५ हजार, १२ हजार र ९ हजार नगदले पुरस्कृत गरिने छ ।

यसैगरि प्रतियोगितामा सहभागी टिमले प्राप्त गरेको नतिजाको आधारमा समष्टिमा प्रथम हुने टिमले नगद ४२ हजार, द्वितीय हुने टिमले नगद ३० हजार, तृतीयले नगद १८ हजार, चौथोले नगद १४ हजार र पाँचौले नगद १२ हजार प्राप्त गर्नेछ ।

खेल असोज १३ गते हुनेछ । दौड प्रतियोगिता चन्द्रागिरि नगर कार्यपालिका कार्यालय बलम्बुबाट सुरु भई नगरपालिकाको विभिन्न स्थान हुँदै पुनः नगरपालिकामै आएर सम्पन्न हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय