काठमाडौं । साफ अण्डर–१९ च्याम्पियनसीपमा घरेलु टोली नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजीत भएको छ ।
दशरथ रंगशाला त्रिपुरेश्वरमा भएको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग १–० गोलले स्तब्ध भएको हो । पाकिस्तानको जीतमा अलि जबरले गरेको एकमात्र गोल निर्णायक बन्यो । खेलमा नेपालले पटकपटक पाएको मौका सदुपयोग गर्न सकेन । पहिलो हाफमा पाकिस्तानले दबाब बनाए पनि नेपालका गोलरक्षक तथा कप्तान जियारथ शेखले उत्कृष्ट बचाउ गरे । ११औं मिनेटमा नेपालका समीर तामाङको प्रहार पोस्ट भन्दा थोरै माथिबाट बाहिरियो । २७औं मिनेटमा पाकिस्तानका शाह जहांनको फ्रिकिक नेपालका गोलरक्षक जियारथले बचाए । त्यसको ५ मिनेटपछि पाकिस्तानले दुई ओटा अवसर पयो । मोहम्मद आदिलले वान भर्सेस वानको अवसरमा गोल गर्नबाट चुके । पहिलो हाफ बराबरी भएको खेलको दोस्रो हाफमा पाकिस्तानले अग्रता लियो । ७६ मिनेटमा अलि जबरले पाकिस्तानलाई अग्रता दिलाए । करिब ३५ मार्ग टाढाबाट जबरले प्रहार गरेको बल गोलरक्षक जियारथले बचाउन सकेनन । खेलको अन्तिम मिनेटमा नेपालले बराबरी गर्ने राम्रो अबसर खेर फाल्दा अंक गुमाउन पुग्यो ।