काठमाडौं । विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरुले आजपनि प्रदर्शन जारी राखेका छन । उनीहरुले लगातार तेस्रो दिन काठमाडौको माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन । माग पूरा गर्ने सम्बन्धमा विगतमा भएका सहमतिविपरीत विधेयक ल्याइएको उनीहरुको आरोप छ । शिक्षकहरुले यस पटक भने आफूहरूको माग पूरा गराएर मात्रै विद्यालय फर्कने अडान राखेका छन् ।
शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन आज पनि अस्तव्यस्त भएको छ । माइतीघर हुँदै चल्ने सवारी साधनलाई विभिन्न स्थानबाट डाइभर्सन गरिएको छ। आन्दोलनका कारण आज पनि देशका धेरैजसो सामुदायिक विद्यालय बन्द भएका छन् । सरकारले भाद्र २७ गते संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरुले बुधबारदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै आएका छन् ।