पूर्व पश्चिम राजमार्गको पथलैयादेखि कमला नदीसम्मको स्तरोन्नती गरिने भएको छ । सडक विभागले १३० किलोमिटर लामो सडकको स्तरोन्नतीको लागी प्राविधिक डिजाइन तयार पार्नको लागी सडक विभागले युरोपेली मुलुक स्पेन र भारतीय कम्पनीको ज्वाइन्ट भेन्चर कम्पनीलाई ठेक्का लगाएको हो ।
पूर्व पश्चिम महेन्द्र राजमार्गको यो खण्डले प्रदेश २ अन्तर्गतको पर्सा जिल्लाबाहेक बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लालाई जोड्छ ।
हालको दुई लेन सडकलाई चार लेनमा स्तरोन्नती गरिएपछि यो राजमार्ग खण्ड वीरगंज–पथलैयाँ राजमार्ग खण्ड जतिकै फराकिलो हुने र जाम नहुने भएकोले पूर्व पश्चिमको यात्रा समयावधि छोट्टिनेछ ।
अहिले मुश्किलले दुई लेन रहेको यो खण्डमा एक पटकमा दुबैतर्फबाट सवारी आउजाउ गर्न कठिनाई हुने गरेको छ भने कतिपय ठूला पुलहरुमा आलोपालो गरेर ठूला सवारी साधनहरु आरपार गर्नुपर्ने अवस्था छ ।
राजमार्गको स्तरोन्नती गर्न लागिएको हुँदा राजमार्गको क्षेत्र ओगटेर विशेषगरी राजमार्ग छेउछाउको शहरी र बजार क्षेत्रमा निर्माण गरिएको पक्की संरचनाहरु हटाइने सडक विभागले जानकारी दिएको छ ।
चन्द्रनिगाहपुर, हरिऔन, बर्दिवासको साथै सिराहा र सप्तरी जिल्लामा पर्ने राजमार्ग खण्डको बजार क्षेत्रमा सडक खण्ड अतिक्रमण गरेर भवन निर्माण गरिएको हुँदा भत्काइने भएको छ ।
त्यसैगरी चारकोसे झाडी, पर्सा वन्यजन्तु आरक्ष अन्तर्गतको जंगल क्षेत्रको साथै राजमार्ग छेउछाउमा सडक सीमामा पर्ने जंगलको रुख समेत ठूलो संख्यामा फँडानी हुने भएको छ ।
सडक विभागका अनुसार स्पेन र भारतीय संयुक्त लगानीको एपटिसा सर्भिसियस डि इनजेनेरिया एण्ड एसटीयुपि कन्स्लट्यान्ट प्रा.लि. जेभिलाई ९ लाख ८१ हजार अमेरिकी डलर अर्थात् १० करोड ५० रुपैयाँमा विस्तृत प्राविधिक डिजाइन तयार पार्नको लागी ठेक्का लगाइएको हो ।