
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुषाललाई किसानका समस्याबारे ध्यानाकर्षण गराएको छ । रास्वपाको कृषि विभागका प्रमुख एवं प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरी सहितको टोलीले मन्त्री भुषाललाई नौ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । उत्पादित धान समर्थन मूल्यमा खरिद गर्न खाद्य संस्थानबाट एक पालिका एक खरिद केन्द्र स्थापना, वाली प्रभावितलाई क्षतिपूर्ति, किसान सुरक्षा कोष लागू गर्नेलगायत बिषय ध्यानाकर्षण पत्रमा समाबेश छन ।



बहुसङ्ख्यक नागरिकको मुख्य आयस्रोत कृषि भन्दै किसानले मल बेलामा नपाएको, बिउ राम्रो नपाएको ,‘लम्पी स्किन’ रोगविरुद्धको नक्कली भ्याक्सिन फैलिएको विषयमा छानबिन हुनुपर्ने,उत्पादित कृषि उपजको तथ्याक स्थानीयस्तरमा सङ्कलन तथा बजारीकरण कार्यमा सहजीकरण गर्नुपर्ने लगायतको माग ध्यानाकर्षण पत्रमा उल्लेख छ । कृषिमा सुलभ कर्जा, बीमा सहुलियत तथा सहज पहुँच, माछा आयतमा अन्त शुल्क भ्याटको अनिवार्यता गर्न, मुडग्री माछाको विक्री वितरणमा रोक,माछाको ओसार पसारलाई व्यवस्थित गर्न ध्यानाकर्षण पत्रमार्फत माग गरिएको छ ।