प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बझाङ भूकम्पबाट पूर्ण क्षति भएका घरपरिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माणका लागि प्रति परिवार ५० हजार दिने घोषणा गरेका छन् । आज बझाङको चैनपुरमा भूकम्पबाट भएको क्षतिको अवलोकनपश्चात प्रधानमन्त्री दाहालले भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहत स्वरूप परिवारसंख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च उपलव्ध गराउने घोषणा पनि गरे ।

उनले भूकम्पमा परी घाइते भएकाहरूको राज्यले निःशुल्क उपचार गर्ने र मृत्यु भएकाको परिवारलाई तत्काल २ लाख राहत उपलव्ध गराउने प्रतिवद्धता पनि जनाए ।प्रधानमन्त्री दाहालले राहत सामग्रीहरू पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरूको व्यवस्थापन भएको बताउँदै थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने पनि बताए । प्रधानमन्त्री दाहालसहित उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुमक्त जोशी, मुख्यमन्त्री कमलबहादुर शाह, गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुखलगायतले भूकम्पबाट प्रभावित क्षेत्रको अवलोकन गरेका हुन् ।

बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर मंगलबार गएको भूकम्पले सुदूरपश्चिमका ७ जिल्ला प्रभावित भएका छन् । भूकम्पबाट सबैभन्दा धेरै भौतिक क्षति बझाङमा भएको छ । बझाङमा मात्रै भूकम्पमा परी २० जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय